- बीके नेवा
विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको सान र मान हो । विश्वमा सगरमाथाभन्दा अग्लो शिखर अर्को नभएकाले नै नेपाललाई सगरमाथाको देश भनेर विश्वभर चिनिने गरेको छ । नेपाललाई सगरमाथाको देश भनेर चिनाउने काम नेपालका आरोही शेर्पाहरुले गरेका हुन् । शेर्पाहरु हिमाल चढ्न अब्बल छन् । शेर्पाहरु विदेशी आरोहीहरुको साथसाथ उनीहरुका सहयोगी बनेर पनि सगरमाथा चढ्ने गरेका छन् । आफू पनि सगरमाथा चढ्ने र अरुलाई पनि चढ्न सिकाउने गुरु नै हुन् शेर्पा । हिमाली पुत्र उनीहरु नेपालका गौरवगाथा हुन् । शेर्पाहरुमा हिमाल चढ्ने सीप र क्षमता अद्वितीय छ । त्यसैले शेर्पाहरु विश्वमै चिनिएका जाति हुन् । कसै कसैले नबुझेर सगरमाथा दिवसलाई शेर्पाहरुको मात्र दिवस भन्ने गरेका पनि छन्, तर यो सत्य होइन । सगरमाथा विश्वकै चिनारी भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रुपमा सगरमाथा दिवस मनाउने गरिएको छ । गत वर्ष र यस वर्ष भने कोरोना महामारीले ठूला कार्यक्रम गर्न पाइएन । तैपनि सगरमाथा आरोहणको सम्झाना गर्दै आपसमा शुभकामना आदानप्रदान गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको हाल कायम भएको उचाइको नयाँ रेकर्ड ८ हजार ८४८.८६ मिटर हो । नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालकै नापी टोलीद्वारा सगरमाथाको उचाई नाप्ने काम गरेको हो । यसरी नापी गर्दा सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको हो ।
नेपालले २०६४ सालदेखि अन्तर्राष्ट्रिय रुपमै सगरमाथा दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालेको १४ वर्ष पुगेको छ । नेपालमा भने यो दिवस राष्ट्रिय रुपमा मनाउन थालेको ६८ वर्ष भइसकेको छ । सगरमाथाको शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानका लागि यो दिवस मनाउन थालिएको हो ।
पहिलो सगरमाथा आरोहीद्वय नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमण्ड हिलारीको निधनपछि उनीहरुको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो ।
पछिल्ला केही वर्षहरु भने यो दिवस खल्लो बन्दै आएको छ । कुनै वर्ष भुइचालो, कुनै वर्ष हिमपहिरो त पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण र दिवस नराम्ररी प्रभावित बनेको छ । यस वर्ष पनि खासै कुनै ठूलो कार्यक्रमहरु आयोजना हुन सकेनन् ।
सगरमाथाको पहिलो आरोहीद्वय शेर्पाको २०४३ साल बैशाख २६ मा र हिलारीको २०६४ पुस २७ मा निधन भयो । २९ मे १९५३ मा हिलारी र शेर्पाले सगरमाथामा मानव पाइला टेकेपछिको आरोहण सिलसिला हेर्ने हो भने गत वर्ष पहिलोपटक हिमाली गतिविधि शून्य भयो । यस वर्ष आरोहण खुला गरिएपनि कोरोना प्रभाव हिमालमा समेत कायमै रह्यो ।
पछिल्ला दशकहरुमा सगरमाथासहित हिमाल आरोहणमा नेपाली र विदेशीहरुको आकर्षण बढ्दा राज्यलाई आर्थिक लाभ भएको छ । तर त्यही आयस्रोतको सरंक्षण र दिगोपनका लागि राज्यले उदासीनता देखाएकोमा चिन्ता व्यक्त हुने गरेको छ । अझ जोखिमयुक्त हिमाल आरोहणमा संलग्न पर्यटन मजदुरहरुको संरक्षणमा सरकार चुकेको आरोहीहरुको भनाइ छ ।
सगरमाथा आरोहणबाट सरकारी राजस्व नै वार्षिक ५० करोड रुपियाँ पुग्न थालेको छ । तर सगरमाथासहितका दर्जनभन्दा बढी हिमाल आरोहणका लागि यस क्षेत्रमा जाने आरोही तथा पदयात्रीहरुका लागि पदमार्ग समेत व्यवस्थित बन्न सकेको छैन । स्थानीय तहमार्फत ती मार्गको स्तरोन्नति कार्य भइरहेपनि त्यो पर्याप्त देखिएको छैन । जलवायु परिवर्तन र वातावरण प्रदूषणले हिमाली भेग विस्तारै प्रतिकूल बन्दै गएको छ । हिमालमा हिउँ जम्न छाडेका छन् भने मानव सिर्जित फोहोरहरु थुप्रिन थालेका छन् ।
बर्सेनि सगरमाथा दिवस मनाइरहे पनि सगरमाथाको संरक्षण र पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान नगन्यमात्रामा रहेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । राजस्व वापतको रकम राज्यले मुठीमा राख्ने र अन्यत्र खर्च गर्ने तर सुधारका लागि पहल नगर्ने स्थितिको अन्त्य हुनुपर्ने पर्यटन व्यवसायीहरुको आग्रह छ ।
यस वर्ष आरोहणको हिसाबले ६८ औँ सगरमाथा दिवस तथा १४ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा स्मरण गरियो । सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झन्डै सात हजार आरोही सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागले जनाएको छ ।
सगरमाथामा प्रथम पटक मानव पाइला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाइँदै आएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई आगामी वर्षदेखि अमेरिकाको न्युयोर्क राज्यको राजधानी आल्बानीमा समेत मनाइने भएको छ ।
उक्त निर्णय न्युयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमारले विशेष समारोहमा घोषणा गर्नुभएको हो । त्यस अवसरमा अमेरिकामा रहेका ६० जना आरोहीलाई सम्मानपत्र र यूएस नेपाल क्लाइम्बर्सएसोसिएसनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
हिमाल आरोही शेर्पाहरुको अदम्य साहस, त्याग र इमानदारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन सुरु गर्नु नेपालका लागि अर्को गौरबको विषय हो । नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतमले सगरमाथा दिवसलाई न्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्षदेखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट एसेम्ब्लीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाले हिमाल आरोहीहरुका लागि गरिएको यो सम्मानप्रति आफु अत्यन्त आभारी रहेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, म्यान्हाट्टन बोरो प्रेसिडेन्ट ग्याल् ब्रिवर, क्वीन्स् बोरो भाइस प्रेसिडेन्ट रोन्डा विन्डा, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पत्रकार तथा लेखक लिओङयिङ, संयुक्त राष्ट्रसंघ धार्मिक समितिका महासचिव गुरु दिलिप कुमार थांकापन, क्वीन्सडेमोक्रेटिक लिडर डा. एन्थोनी एन्ड्रिउ, सिटी काउन्सिलका डेमोक्रेटिक उम्मेदवार शेखर कृष्णन, वूडसाइड अन द मुवका कार्यकारी निर्देशक स्टेभेन रागा, शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पा, जीपीके फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिवासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, सामाजिक अभियन्ता तथा एडवाननेपालका संस्थापक बिष्णुमाया परियार, मिस नेपाल यूएसका तेस्रो उपाधि बिजेता एलिसा लिम्बु, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायनलगायत उपस्थित बिदेशी पाहुनाहरुले शुभकामना दिनुभएको थियो ।
मूलतः नेपाल सरकारले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउने निर्णय गरेपछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउँदै आइरहेका छन् । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यूएस नेपाल क्लाइम्वर्स एसोसिएसनले न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास, अमेरिकन अल्पाइन क्लव,एक्सप्लोरर क्लव अफ यूयसए, युनाइटेड शेर्पा एसोसिएसन जस्ता संस्थाहरुसँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आइरहेको यूएस क्लाइम्बर्सएसोसिएसनका महासचिव मिङ्मार लामाले जानकारी दिनुभएको छ ।
अतः सगरमाथा नेपालका साथै विश्वकै लागि गौरब हो । यसको संरक्षण गर्नु सबैको कर्तव्य हो । सगरमाथा चढ्ने र यसको संरक्षणमा सक्रिय शेर्पाहरु सबैका सारथी हुन् । त्यसैले सगरमाथा दिवस अमेरिकाको न्युयोर्क राज्यमा मात्र होइन ५० वटै राज्यमा साथै विश्वभर नै मनाउन नेपालले सबैसित सहकार्य गर्नुपर्छ ।
– न्युयोर्क,अमेरिका