२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

जापानकी राजकुमारीले त्यागिन् शाही पदवी, गरिन् सर्वसाधारण युवकसँग बिहे



जापानकी राजकुमारी माकोले शाही पदवी त्याग्दै सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिइन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् । आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।

जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग सुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलबारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन ।

जापानका राजा नारुहितोकी ३० वर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनका पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् । बिवाहपछि राजकुमारी माको पनि अमेरिका जाने छिन् । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको थिएन उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छन् ।

यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुदै आएको थियो । विरोधकाबीच पनि शाही पदवीसमेत त्यागेर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ ।

 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : ३९ बजे