२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

स्वर्गीय पत्रकार शर्माका परिवार नेजाको सहयोग



स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले शर्मा परिवारलाई आर्थिक सहयोग गरेको हो । नेजाका अध्यक्ष विकासराज न्यौपानेले बिहीबार शर्माकी आमा खगिसरा जैशीलाई ६५ हजार रुपैयाको को चेक हस्तान्तरण गरेका हुन् । चेक बुझ्दै शर्माकी आमा खगिसराले सुख र दुःखमा साथ दिएको भन्दै नेपाल पत्रकार महासंघ र नेजाप्रति आभार व्यक्त गरिन् । एकमात्र छोरा गुमाएपछि आर्थिक अवस्था कमजोर रहेको भन्दै सहयोगको अपेक्षा व्यक्त गरिन् ।

त्यस्तै नेजाका अध्यक्ष न्यौपानेले अमेरिकमा रहेपनि नेपालका सञ्चारकर्मीको सुख र दुःखमा सहयोग गर्दै आएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दुःखमा परेका हरेक पत्रकारलाई महासंघले कुनै न कुनै रुपमा सहयोग जुटाउँदै आएको बताए । महासंघकै पहलमा शर्माका परिवारलाई सहयोग जुटाएको पोखरेलले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पूर्व उपाध्यक्ष कमल पन्त, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति थियो ।

दैलेख स्थायी घर भएका शर्मा ६ बर्षदेखि सुर्खेतमा बसेर पत्रकारिता गर्दै आएका थिए । उनी सुर्खेतको साझाविसौनी दैनिक र काठमाडौंको देशसञ्चार अनलाइनमा कार्यरत थिए । बोनम्यारो रोगका कारण २३ बर्षकै उमेरमै शर्माको दुई वर्षअघि (२०७६ साल कार्तिक २८ गते) उपचारको क्रममा मृत्यु भएको थियो । बाल्यकालमै बुवा गुमाएका शर्मा घरका एक्ला छोरा थिए । स्वर्गीय शर्माका हजुर आमा, आमा र एक महिनी छन् । उनको मृत्युपछि उनीहरु सुर्खेतस्थित अंकलको घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५६ बजे