काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार आज ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।
यो सन् २०२१ को अन्तिम चन्द्रग्रहण समेत हो । यद्यपी यो चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने बताइएको छ ।
आंशिक रूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले नेपाल पञ्चांक समितिले स्वीकृति दिएको पात्रोमा यसबारे उल्लेख छैन ।
चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ । चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत क्षेत्र ढाकिनेछ ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । अब ८ फेब्रुअरी २६६९ मा मात्रै लामो चन्द्रग्रहण लाग्नेछ ।
एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।