१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु, एकल बहुमतको उद्घोष



चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।

नारायणी नदीको किनारलाई आकर्षक डोभ आकारको स्टेजमा कार्यक्रम सुरु भएको हो । महाधिवेशन उद्घाटनपूर्व स्टेजमा सांस्कृतिक कार्यक्रम र सडकमा झाँकीसहितका र्‍याली निकालिएको थियो । नदी किनारमा नअटेपछि ठाउँठाउँमा राखिएका डिस्प्ले बोर्ड हेरेर प्रतिनिधि र परिवेक्षकसहित एमालेका नेता कार्यकर्ताले महाधिवेशन हेरी रहेका छन् । महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन् ।

उद्घाटन सत्र हुने स्थल नारायणगढ र भरतपुर क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिष्ट पार्टीको हसिया हथौडा अङ्कित झण्डा र ब्यानर सझाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताए । ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ । मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुने छन् । प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन् । उहाँका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन् । प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला रहेको उहाँले जानकारी दिनुभयो । कूल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उहाँको भनाइ छ । महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहनेछन् ।

महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । मङ्सिर १३ गते पार्टीका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न हुँदैछ । महाधिवेशन सम्पन्न गर्न रु सात करोड ५० लाख खर्च हुने र सो रकम एमालेकै नेता कार्यकर्ताबाट सङ्कलन भएको भट्टराईले जानकारी दिए ।

एकल बहुमत आवश्यकः अध्यक्ष ओली

अध्यक्ष ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । नारायणी नदी किनारमा आयोजित एमालेको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै मुलुक निर्वाचनमा जाने भएकाले त्यसको तयारी गर्दै एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशमा समृद्धि, सार्वभौमिकता, लोकतन्त्र र संविधानको रक्षाका लागि एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै देशलाई मिलेर अघि बढाउन एमालेमा सामेल भएर आउन अन्य दलमा रहेका नेता कार्यकर्तालाई आग्रह गरे । “एमालेले आउँदो फागुनसम्म देशभर पार्टी प्रवेशका व्यापक कार्यक्रम आयोजना गर्नेछ”, उनले भने, “एमाले गफ गर्ने पार्टी होइन, देश र जनताका लागि काम गर्ने पार्टी हो ।”

अध्यक्ष ओलीले एमालेले छिमेकी र अन्य मुलुकसँग पारस्परिक लाभ, आपसी समानता र सार्वभौमिकताका आधारमा सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै आफू नेतृत्वको सरकारले पृथकतावाद र हिंसात्मक गतिविधिमा संलग्न पक्षहरुलाई शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याएकाले अब कुनै हिंसाको वातावरणको काम नरहेकाले विदेशीहरुले लगानी गर्ने वातावरण रहेको बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ४ : ५६ बजे