अमेरिका । अमेरिकाको केन्टकी राज्यमा आएको भीषण आँधीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा शुक्रबार आएको आँधीबाट हजारौँ नागरिक प्रभावित भएका छन् ।
आँधीको कारण हराइरहेका ४० जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् ।
आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ। केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ । आँधीबाट प्रभावित केन्टकीमा आपत्काल घोषणा गरिएको छ। राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाहरुलाई सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केन्टकी राज्यका गभर्नर एन्डी बेसियरले यसलाई केन्टकीको इतिहासमै सबैभन्दा भयानक आँधी भनेका छन्।