नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये आइतवार ११ बजेसम्मको फिर्ता लिने समयसम्म केहीले फिर्ता लिए पनि सबैजसो प्रतिस्पर्धामा नै छन् ।
त्यस मध्ये सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सहमहामन्त्रीतर्फ खसआर्य, महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट समेत गरी जम्मा ८ सिटमा २० जनाको उम्मेदवारी दर्ता भएको छ । अन्य केन्द्रीय सदस्यका आकांक्षी हुन् । सोमबार मात्र यसमा मतदान हुने कार्यक्रम रहेको छ ।
यसैबीच कांग्रेसको केन्द्रीय निर्वाचिन समितिका अनुसार प्रदेश २ बाट खुलातर्फ दुई केन्द्रीय सदस्य निर्विरोध भएका छन् । प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् । दुवै जना प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका हुन् ।