१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

पुस ७ देखि १२ गतेसम्म विमलनगरमा चट्टान आरोहण महोत्सव हुँदै



काठमाडौँ । गण्डकी अल्पाइन क्लबको आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म तनहुँको विमलनगरमा चट्टान आरोहण महोत्सव हुने भएको छ । बन्दीपुर गाउँपालिका अन्तर्गत पर्ने विमलनगरस्थित चुन पहरा हालसम्म पहिचान भएका मध्ये विभिन्न कारणले उपयुक्त मानिन्छ ।

‘बाटो बिस्तारको क्रममा यो चुन पहरा भत्काउने कुरा आइरहेको छ, यस्तो उपयुक्त ठाउँलाई नभत्काइयोस् भनेर जागरण ल्याउनका लागि र त्यस क्षेत्रको वातावरण जोगाउनु पर्छ भन्ने सचेतना फैलाउने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको हो’ क्लबका अध्यक्ष नरेन्द्र शाहीले भने ।

“साहसिक पर्यटनको प्रवर्द्धन गरौँ – विमलनगर चुन पहरा जोगाउ” मूल नाराका साथ हुने यस महोत्सवमा चट्टान आरोहणको प्रतिस्पर्धा गराइँदै छ । उक्त प्रतिस्पर्धामा पुरुष र महिला दुई समूहमा विभाजन गरेर खेलाइने छ भने हालसम्मकै ठुलो राशिको पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा पुरुष र महिलातर्फ प्रथम हुनेले जनही पचास हजार पाँच सय रुपैयाँ नगद, मेडल तथा अन्य गिफ्ट भौचरहरू प्राप्त गर्ने छन् । दोस्रो हुनेले बिस हजार रुपैयाँ नगद, मेडल र गिफ्ट भौचरहरू प्राप्त गर्नेछन् भने तेस्रो हुनेले दश हजार रुपैयाँ नगद, मेडल र गिफ्ट भौचरहरू प्राप्त गर्ने छन् ।

क्लबका अध्यक्ष शाहीका अनुसार चट्टान आरोहण विदेशतिर खेलकै रूपमा खेलाइने भए पनि नेपालमा यसको बिस्तार भएको छैन । यसलाई कतिपयले प्राकृतिक योग भन्ने गर्छन् । ‘‘यसमा सबै कुरा बिर्सेर ध्यान केन्द्रित गर्नुपर्ने हुँदा यसलाई एक प्रकारले प्राकृतिक योग भन्ने गरिएको हो’’ शाही भन्छन् ।

अरू पनि केही स्थानमा चट्टान आरोहण हुने भए पनि विमलनगरको चुन पहरा सबैभन्दा उपयुक्त रहेको बताइन्छ । हालसम्म आरोहणको लागि पत्ता लागेको पहराहरू मध्ये सबैभन्दा धेरै २७ वटा रुट भएको यही मात्र चट्टान हो । साथै यो पृथ्वी राजमार्गमै पर्ने भएकोले पहुँच सजिलो रहेको छ ।

चट्टान आरोहण साहसिक पर्यटकीय गतिविधि मध्ये महत्त्वपूर्ण रहेको छ । हिमाल आरोहण गर्ने तथा हिमाल आरोहण पथ प्रदर्शकहरुले आफूलाई तम्तयार राख्नको लागि चट्टान आरोहण गर्ने गर्छन् । साथै नयाँ आरोही तथा आरोहण गाइडहरूको तालिममा चट्टान आरोहण एक अङ्गको रूपमा रहेको छ । उनीहरूलाई तालिमका बेला चट्टान आरोहण गराइन्छ ।

दुई वर्षयता कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्नको लागि पनि नयाँ नयाँ पर्यटकीय गतिविधिहरू आवश्यक भएको बेला चट्टान आरोहणले साहसिक पर्यटनको विकासमा योगदान दिने बताइएको छ ।

‘यसले देश विदेशमा नेपाली पर्यटनको सकारात्मक सन्देश लैजाने छ’ अध्यक्ष शाही भन्छन्, ‘साहसिक पर्यटनको विकासमा यसले योगदान दिने छ ।’

गण्डकी अल्पाइन क्लब गण्डकी प्रदेशमा जन्मेर आरोहण क्षेत्रमा संलग्न युवाहरूको संस्था हो । यसले गण्डकी प्रदेशमा साहसिक पर्यटकीय गतिविधिहरूलाई प्रवर्द्धन गर्ने मूल उद्देश्य राखेको छ भने गण्डकी प्रदेशबाट साहसिक पर्यटनको लागि आवश्यक जनशक्ति उत्पादनमा पहल गरिरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : २४ बजे