३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने



काठमाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

यसैबीच समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दुई हजार १३८ ,महेन्द्रकुमार राय एक हजार ९८४ र दिनेशकुमार यादवले एक हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित

यस्तै मधेशी महिलातर्फ मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : १५ बजे