९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

प्रचण्ड माओवादी अध्यक्षमा फेरी निर्विरोध निर्वाचित



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए । नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेका थिए ।

प्रचण्डलाई सर्वसम्मत निर्वाचित गरेको केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित भएको घोषणा गरे । माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ । सोही आधारमा बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो ।

यद्यपी अन्य पदाधिकारीहरु भने चयन गरेको छैन । अन्य पदाधिकारीमा धेरै नेताहरुको दावी रहेका कारणले पनि चयन हुन नसकेको बताइएको छ ।

बिधान अनुसार माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ । विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए । बाँकी रहेका ६३ जना मनोनित हुनेछन् ।

माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै छन् ।

टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : ०२ बजे