१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एमसीसी सम्बन्धमा देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक, फागुन १६ गतेसम्म पास गर्ने म्याद



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता जनाएको खुलेको छ । यसअघि प्रचण्डले त्यस्तो पत्र नपठाएको जिकीर गर्दै आएको थियो ।

देउवा र प्रचण्डले एमसीसी बोर्डलाई ४/५ महिना पर्खिदिन भन्दै त्यस अबधीमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

दुवै नेताले स‌ंयुक्त रुपमा एमसीसी बोर्डलाई असोज १३ गते एमसीसी बोर्डलाई पठाएको पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्ने उल्लेख छ । ‘हामी प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता संसदबाट पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं’, दुवै नेताद्वारा हस्ताक्षरित संयुक्त पत्रमा भनिएको छ ।

प्रधानमन्त्री देउवाले प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा गरेपनि प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

पत्रमा उनीहरुले अनुमोदनका लागि ६ वटा काम गर्ने प्रतिवद्धता जनाएका छन् । एमसीसीले पठाएको स्पष्टीकरणका बारेमा गठबन्धनमा आवद्ध दलहरुभित्र व्यापक छलफल गर्ने र यथार्थ बुझाउने, एमसीसीका बारेमा रहेका भ्रम र आशंका हटाउन सरकारले सार्वजनिक बहसका कार्यक्रम गर्ने साथै एमसीसी अनुमोदनका पक्षमा धारणा राख्न सत्ता गठबन्धनमा आवद्ध दलहरुको संयुक्त पत्रकार सम्मेलन गर्ने, सरकारी सञ्चारमाध्यममार्फत एमसीसीका बारेमा वास्तविक सूचनाहरु सम्प्रेषण गर्ने, एमसीए नेपाललाई प्राविधिक र सञ्चारका कामहरु सम्पन्न गर्न प्रोत्साहित गर्ने, जसले गर्दा एमसीसी कार्यान्वयन गर्न सहज होस् र एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई छिटो टेबुल गर्न संयुक्त रुपमा आग्रह गर्ने पत्रमा उल्लेख छ ।

आउँदो फागुन १६ गते देउवा र प्रचण्डले पत्र पठाएको पाँच महिना पुग्दै छ । त्यस अवधीसम्ममा एमसीसी अनुमोदन हुन नसकेमा त्यसपछि बस्ने एमसीसी बोर्डको बैठकले नेपाललाई उक्त अनुदान दिने या नदिने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १ : ०६ बजे