२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

युक्रेनको दुई क्षेत्रलाई रुसद्वारा स्वतन्त्र राज्यको मान्यात, संकट झनै गहिरियो



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउँदै रुसी सेनालाई ती क्षेत्रमा शान्ति स्थापनाका लागि परिचालन हुन आदेश दिएका छन् । यसले युक्रेन सङ्कट झन चुलिएको छ।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन् । रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ।

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन् ।

यसैबीच युक्रेनले रुसले जस्तोसुकै कदम चाले पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने उल्लेख गर्दै आफुहरु नडराएको बताएको छ ।

मङ्गलवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसी कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको बताए ।

रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रियालाई ध्वस्त पारेको उनले उल्लेख गरेका छन् । जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको र राजनीतिक तथा कूटनीतिक समाधानको समर्थन गर्ने बताए।

यस बिषयमा अमेरिका लगायतका पश्चिमा देशहरुले रुसको कदमको बिरोध गरेको छ भने चीनले स‌ंयिमत हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ४८ बजे