शेर्पालगायत हिमाली आदिवासीहरुको नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रिको सन्देश दिंदै अनेकतामा एकताले नै राष्ट्रलाई मजबुत बनाउने बताएका छन् ।
साथै उनीहरुले मुलुकको विविधता नै बिशिष्ट पहिचान भएको पनि उल्लेख गरे । मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।
यस पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।
विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएका छन् ।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले भएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने उल्लेख छ ।
हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।
ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा गरेकी छन् ।
ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई मजबुद बनाउने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन् ।
महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।
हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको विशिष्ट पहिचान रहेको उल्लेख गर्दै उनले ग्याल्पो ल्होसार आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका रूपमा रहेको बताए ।
ग्याल्पो ल्होसारका अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका महायानी बौद्ध धर्मावलम्बी तथा सम्पूर्ण शेर्पा दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष देश भएको उल्लेख गर्दै उपराष्ट्रपतिले यहाँ बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व नेपालका गौरवका रूपमा रहेको बताए ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देश निर्वाचनमा प्रवेश गरेको भन्दै उनले ग्याल्पो ल्होसारले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैलाई प्रेरित गरोस् भनी कामना गरेका छन् । ग्याल्पो ल्होसारमा शुद्ध पानी चढाई देवताको पूजा गर्ने, घरघरमा बौद्ध धर्मावलम्बीको ध्वजा फहराउने, पिठोको परिकार छिमार र अमृत खाने र आपसमा शुभकामना आदानप्रदान गरेर मनाइने प्रचलन छ ।
सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्पो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताए ।
प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याइ राष्ट्रिय एकतामा थप बल पुर्याउने विश्वास लिएको छ । कोभिड–१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै उनले ग्याल्बो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।