१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

यस्तो छ नेपाल र चीनबीचको नौ वटा समझदारी



काठमाडौँ । नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नौ वटा समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल चीन अन्तर देशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् ।

विदेशमन्त्री वाङले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भटवार्ता गरेका छन् भने आइतवार राष्ट्रपति विद्या भण्डारी तथा पूर्व प्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने तय भएको छ ।

भेटवार्ता क्रममा प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री खड्काले एमसीसीको नाम नलिइकनै कुनै पनि विदेशी अनदान विशुद्ध विकास परियोजनाका लागि लिइने बताएका थिए । साथै चीन विरोधी गतिविधिका लागि नेपाली भूमि कुनै हालतमा पनि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

यस्ता छन् चीन र नेपालबीच भएका ९ बुँदे समझदारी

१. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

२. नेपालमा चीन –नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना

३. नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता

४. सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी

५. चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र

६. अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र

७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज

८. कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र

९. चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ३२ बजे