नेपाल आदिवासी जनजाति महिला महासंघ (फिवना) ले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यालय उद्घाटन गर्दै ”दिर्घकालिन भोलीका लागि र्लैंगिक समानता” भन्ने नारासहित एक कार्यक्रम आयोजना गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राज कुमार विष्टको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा फिवनाकी महासचिव वन्दना राईको पुस्तक ”जीवनका पाइलाहरु” नामक कविता संग्रहको पनि विमोचन गरिएको थियो ।
अध्यक्ष विष्टले आदिवासी जनजाति महिला महासंघ (फिवना) र फिप्नाले एउटै मुद्दामा काम गर्ने भएकोले फिप्ना र फिवना एक अर्काबीच हातेमालो गरेर अघि बढ्नु पर्ने बताए । महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष विष्टले फिवनाले गरिरहेको काममा फिप्नाको सधै साथ रहने प्रतिवद्धता पनि जनाए ।
त्यस्तै पूर्व सभासद तथा जिरेल समाज अमेरिकाका अधयक्ष शान्ति जिरेलले महिलाहरु सक्षम हुनका लागि सम्पत्तिमा महिलाको हक स्थापित गर्नुपर्ने, महिलाहरुले व्यक्तित्व विकास गर्नुपर्ने र राजनीतिमा महिला सहभागितालाई जोड दिनुपर्ने बताइन् । दार्जिलिङ सोसाइटीका अध्यक्ष युली लोले महिलाहरुलाई कुनै पनि काम ठुलो सानो नहुने भएकाले जस्तो सुकै काम गरेर पनि महिला दिदीबहिनीहरु आर्थिक रुपमा सक्षम हुन सुझाव दिंदै आफु सक्षम भएमा कसैमाथि भर पर्नु नपर्ने बताईन् ।
त्यस्तै युनाइटेड किराँत राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) का अध्यक्ष मुना राईले फिवनाको कार्यालय उद्घाटन गरेकोमा बधाई दिंदै युक्रा सधैं फिवनाको साथमा रहने प्रतिवद्धता व्यक्त गरिन् । राईले फिवनालाई ३ सय ३३ डलर आथिक सहयोग पनि गरिन् ।
फिवनाले विभिन्न कार्यक्रम गरी अमेरिकामा रहेका आदिवासी महिला दिदीबहिनीहरुलाई एकता गर्दै उनीहरुको क्षमता अभिवृद्धि र सशक्तिकरणमा जोड दिंदै आएको छ । साथै दिदीबहिनीहरुलाई एकजुट हुन प्रेरित गर्दै नैतिक तथा आर्थिक सहयोग गर्नुका साथै उनीहरुको दुखसुखमा साथ दिंदै आएको छ ।
कार्यक्रकमा फिवनाकी उपाध्यक्ष इन्दिरा चोङवाङले महिला अधिकार प्राप्तिका लागि योगदान गरेका वीर योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै महिला एकता नै शक्ति भएकोले सबै आदिवासी जनजाति दिदीबहिनीहरु एकजुट हुन आव्हान गरिन् । फिवनाले महिलाहरुका लागि गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिंदै उपाध्यक्ष चोङवाङले महिला शशक्तिकरणका लागि महिला आफै पनि घरमा मात्र सिमित नभै बाहिर निस्कनुपर्नेमा जोड दिइन् ।
त्यस्तै द गुरुङ तमु सा्साइटीका अध्यक्ष तोरण गुरुङले महिला दिदीबहिनीहरुले अलि फराकिलो सोच बनाएर अघि बढ्नु पर्नेमा जोड दिए । संसारलाई सुचारु गर्नका लागि महिलाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै अध्यक्ष गुरुङले महिलाहरुले घरमा मात्र सिमित नरहेर बाहिरी संसारमा आउन महिलाहरुलाई सुझाव दिए ।
संस्थाका अध्यक्ष संगिनी रानामगरले शुरुवाती दिनमा संस्था स्थापना गर्दा आफ्नै समुदायका पुरुषहरुले विभिन्न आरोप लगाएको तितो अनुभव स्मरण गर्दै संस्था स्थापना गर्नु ठुलै चुनौती व्यहोर्नु परेको बताईन् । अध्यक्ष रानामगर भावुक हुँदै भनिन्, ”अमेरिकामा रहेका महिला दिदीबहिनीहरुलाई एकजुट गराउनु पनि गाह्रो थियो, आज एकजुट भइ सक्षम महिलाहरु एक भएकोमा मलाई खुशी लागेको छ ।”
महासचिव वन्दना राईले आमाको सपना पूरा गर्नका लागि आफुले पुस्तक प्रकाशन गरेको बताइन् । जीवनमा भोगेका अनुभवहरुलाई उनले कवितामार्फत व्यक्त गरेकी छन् । २६ बर्ष नेपालमा शिक्षिकाको रुपमा काम गरेकी राईले दार्जिलिङ सोसाइटी अफ अमेरिकामा अध्यक्षको रुपमा काम गरिसकेकी छन् । उनी ३ छोरीसहित अमेरिकामा बस्दै आएकी छन् । आफनो कविता वाचन गर्दै राईले दिदीबहिनीहरुलाई कुनै पनि काम ठुलो सानो नहुने भएकोले जतोसुकै काम गर्न पनि नहिच्किचाउनु आग्रह गर्दै आफनो काम र आफु जन्मेको जन्मभूमि तथा कर्मभूमिप्रति सधै गर्व गर्नुपर्ने बताईन् ।
उनी लामो समयदेखि न्यानीको रुपमा काम गर्दै आएकी छन् । त्यस्तै थारु एण्ड फ्रेण्ड्स एशोसियसनका उपाध्यक्ष दीपक चौधरीले कार्यालय उद्घाटन गरेकोमा खुशी व्यक्त गर्दै युवा तथा महिलाहरुलाई सामाजिक क्रियाकलापमा सहभागी गराउनु पर्नेमा जोड दिए । कार्यक्रममा फिप्नाका पूर्व उपाध्यक्ष तथा घ्याल्सुम्दो सेवा संस्थाका पूर्व अध्यक्ष निमा लामा, संस्थाका कोषाध्यक्ष इन्दु गुरुङ, दार्जिलिङ सोसाइटी अफ अमेरिकाका महासचिव माया लामालगायतले महिला दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए । निमा लामाले फिवनालाई २ सय ७५ डलर आर्थिक सहयोग समेत गरिन् ।