काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेले ‘अराजक अर्थमन्त्रीको दबाबमा’ प्रधानमन्त्रीले राष्ट्र बैंकका गभर्नरलाई हटाउने निर्णय लिएको आरोप लगाएका छन् । एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको हो ।
एमालेका पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले संयुक्त पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक अबस्था गम्भिर मोडमा भएको बेला अराजक अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय लिएको आरोप लगाएको हो ।
शुक्रबार विभिन्न तीन वटा आरोप लगाउँदै छानविन समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बनमा परेका छन् ।
‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ तीन पूर्व अर्थमन्त्रीले जारी गरेको संय्क्त विज्ञप्तीमा छ ।
एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा परेको उनीहरुको भनाई रहेको छ । ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ,’ उनीहरुले भनेका छन् ।
विज्ञप्तिको पूर्णपाठ :