२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नर्थ क्यारोलिनामा भव्यताका साथ सम्पन्न भयो छैटों ”नेपाल डे परेड”



अमेरिकाको नर्थ क्यारोलिनामा नेपाल सेन्टर अफ नर्थक्यारोलिनाले नेपाल चिनाउने महत्वपूर्ण कार्यक्रम ”नेपाल डे परेड” भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर आयोजित नेपाल डे परेडमा करिब ७ सय स्थानीय नेपालीको उपस्थिति रहेको थियो । स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिटमा आयोजित कार्यक्रम शनिवार बिहान ११ बजे विविध साँस्कृतिक झाँकीसहित पदयात्रापछि शुभकामना आदानप्रदानसँगै मौलिक नेपाली संस्कृति, नेपाली खाना र नेपाली कला सम्बन्धी स्टलहरु राखिएको थियो ।

नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत पाँच वर्षदेखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन ”नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ । यस पटक पनि उक्त दिनलाई ”नेपाल डे” को मान्यता थियो । ‘कोभिड–१९ को कारण दुई वर्षदेखि हुन नसकेको नेपाल डे परेड यस पटक कोभिड महामारीकै बीच छोटो समयको तयारीमा भएपनि हामीले सोचे जस्तै सफल भएको छ’ एनसिएनसिका महासचिव डा. विकास शाक्यले भने, ‘यस पटकको कार्यक्रमबाट पाएको शिक्षा अनुसार आगामी वर्ष पूर्ण तयारीका साथ आयोजना गर्ने सोच बनाएका छौं ।’ छोटो समयको तयारी भए पनि कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ ।

‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एनसिएनसिका अध्यक्ष आरपी पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने छ।’ अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना,क्यालिफोर्नियालगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ ।

नेपाली राजदूतावासका उपप्रमुख कुमारराज खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोरिसभिलका पूर्व नगरप्रमुख मार्क स्टोल्ह्याम, वेक काउन्टीका कमिस्नर सिग हुचिन्सन, नर्थ क्यारोलिनाका सिनेटर विली निकेल, नर्थ क्यारोलिनाका स्टेट सेक्रेटरी इलेन मार्शल र मोरिसभिलका काउन्सिलम्यान स्टिभ राओ, एनआरएनका केन्द्रीय महासचिव डा. केशव पौडेल, एनआरएनका क्षेत्रीय संयोजक कृष्ण पोखरेलले ”नेपाल डे परेड” कार्यक्रमको महत्व बारे बोलेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली राजदूतावासका उपप्रमुख खरेलले विदेशमा नेपालीले मनाउदै आएको नेपाल डे परेडले विश्वमाझ नेपालको चिनारी दिंदै आएको बताए । नेपालका विभिन्न जातजाति, भाषाभाषी र विविधि सांस्कृतिक सम्पदाले धनी रहेको उपप्रमुख खरेलको भनाई थियो ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली कम्युनिटीले आरटीपी क्षेत्रमा ठूलो योगदान दिएको बताए । उनका अनुसार नर्थ क्यारोलिनामा करिब सात हजार नेपाली बसोबास गर्दै आइरहेका छन् । कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङ छिरिङ शेर्पाले सगरमाथा आरोहणको अनुभव सुनाएका थिए भने युवा नेतृ दिया मूलले युवाहरुको भुमिको बारेमा मन्तव्य राखेकी थिइन् । कार्यक्रममा हिमालयन समुदायको सिंह नृत्यसँगै विभिन्न जातजातिको परिचय दिलाउने फेसन सो र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ५२ बजे