पहिलो भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्ने गोरखा सैनिक कुलवीर थापाको कथामा बनेको चलचित्र ”गोरखा विनिथ द व्रेभरी” न्यूयोर्कमा प्रदर्शन गरिएको छ ।
भिसी विजेता थापाले युद्धमा देखाएको वीरताको सत्य घटनामा आधारित चलचित्र गोरखा विनिथ द व्रेभरीको प्रिमियर शो फ्लसिङको वम्वई थिएटरमा प्रदर्शन गरेको हो ।
दोश्रो विश्वयुद्धमा नेपालीले गोर्खा सैनिकको रुपमा देखाएको वीरता गाथामा व्यवसायिक चलचित्र बन्न सक्छ र बनाउनु पर्छ भन्ने लागेर पुर्खाहरुको योगदान समेटेर चलचित्र निर्माण गरेको निर्देशक प्रदिप शाहीले बताए । पहिलो अन्तराष्ट्रिय प्रिमियर शो अमेरिकी नेपाली समुदायको बीच गर्न पाउँदा खुशी लागेको बताउँदै निर्देशक शाहीले भने चलचित्र मार्फत नेपाललाई विश्वमा चिनाउने प्रयास हो, चलचित्रको प्रवर्द्धनका लागि प्रचारप्रसारमा सहयोग गरिदिन अनुरोध पनि गरे ।
त्यस्तै, प्रोड्युसर मधु गुरुङले चलचित्र प्रदर्शनका लागि नेपाली समुदायको साथ र सहयोगप्रति धन्यवाद दिंदै गोरखाहरुले समानताको लागि लडेको आन्दोलनमा सहयोग पुग्ने अपेक्षा रहेको बताइन् । प्रोड्युसर गुरुङले भनिन्, ”पुर्खाहरुको इतिहासलाई चलचित्रको रुपमा ल्याउन तीन वर्ष लागे पनि अहिले चलचित्र विभिन्न मुलुकमा प्रदर्शन गर्ने क्रममा दर्शकको उपस्थिति र सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको छ, जसले हामी चलचित्र निर्माता टिमलाई उर्जा थपेको छ ।”
त्यस्तै, नायक समिर गुरुङले अमेरिकामा पनि नेपालीहरुको उपस्थिति र सहयोग पाउँदा आफुलाई गर्व लागेको बताए । चलचित्र प्रदशनीपछि कार्यक्रममा द गुरुङ तमु सोसाइटी इन्कका संस्थापक अध्यक्ष तुलसी गुरुङ, सोसाइटीका अध्यक्ष तोरण गुरुङल तथा तमु महिला दिदी बहिनी समूहको तर्फबाट सिद्धार्थ गुरुङ, पार्वती गुरुङ तथा चन्दा गुरुङले निर्देशक शाही, प्रोड्युसर मधु गुरुङ र नायक समिर गुरुङलाई फेटा तथा सल ओढाएर सम्मान गरेका थिए ।
लाइटआउट एन्टरटेन्मेन्टको आयोजनामा भएको प्रिमियर शो पहिले रेड कार्पेट आयोजना गरिएको आयोजक ओम गुरुङले जानकारी दिए । शो अन्तर्गत अवार्ड विजेता लेखक तथा निर्देशक प्रदिप शाही, प्रोड्युसर मधु गुरुङ, प्रमुख नायक समिर गुरुङसँग दर्शकहरुले प्रत्यक्ष भेटघाट गरी फोटो लिन सकिने व्यवस्था मिलाइएको आयोजक मध्यका अन्जित गुरुङले जानकारी दिए ।
चलचित्र प्रदर्शनपछि दर्शकहरुले चलचित्रले गोरखाहरुको योगदान समेटेको प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न हल पुगेकी गायिका आस्था राउतले नेपालीले गर्व गर्न लायकको चलचित्र बनेको प्रतिक्रिया दिइन् । नेपाली मात्र नभएर विदेशी नागरिकहरु समेत चलचित्र हेर्नका लागि हल पुगेका थिए । छोटो समयमा चलचित्र प्रदर्शन गरे पनि लगभग १ सय ७० जना दर्शक सहभागी थिए । नेपालीको गौरव, साहस र सदभावको कथा समेटेर बनाएको चलचित्र १ घण्टा १५ मिनेट लामो छ ।
प्रिमियर शोबाट उठेको सम्पूर्ण रकम गोरखा कल्याणकारी कोषमा डोनेट गरिने आयोजकले जनाएको छ । एसएचवाइ प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायांकन बेलायतमा गरिएको हो । चलचित्रको प्रिमियर शो यस अघि बेलायतमा गरिएको थियो । गोरखालीहरुको बहादुरी, करुणा र मित्रताको सन्देशलाई चलचित्र मार्फत विश्व सामु पुर्याउने मद्दत पुग्ने बताउँदै आयोजक गौतम गुरुङले चलचित्रलाई अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन गरिने जानकारी दिए । चलचित्र नेपाल, सिंगापुर, अष्ट्रेलिया लगायत देशमा पनि प्रदर्शन गर्ने योजना रहेको निर्माता टीमको भनाई छ ।