वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ ।
सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले जारी गरेको सूचनामा सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ बमोजिम मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेक स्थानीय तह निर्वाचनमा आन्तारिक उडान बन्द रहने उल्लेख छ ।
“मिति २०७९ वैशाख ३० गतेका दिन यस सङ्घमा आबद्ध सबै सदस्य वायुसेवाको नियमित आन्तरिक उडान बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचना भनिएको छ, “यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति यो सङ्घ क्षमायाचना गर्दछ ।”
अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह
जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवन कार्य नगर्न नगराउन आग्रहसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना विपरीतका कार्य तोकिएको समयमा गरे÷गराइएको पाइएमा कानूनबमोजिम कारबाही गर्ने बताएको छ ।