गीतकार पासाङ शेर्पाले लेखेको ‘कोरोना कथा’ पुस्तक न्युयोर्कमा एक कार्यक्रमको वीच विमोचन गरिएको छ । गीतकार शेर्पाले न्युयोर्कमा कोरोना आएको बेला आफुले देखेको र भोगेको अनुभवको आधारमा लेखेको उक्त पुस्तक नेपालमा र अमेरिकामा विमोचन गरेका छन । कोरोना आए लगतै न्युयोर्कमा संगठीत कोरोना सचेतना समुहको सदस्य पासाङ स्वयम कोरोना महामारीको बेलामा घरघरमा राहत बाडने कार्यमा क्रियाशील थिए । अमेरिकामा न्युयोर्कस्थित शेर्पा किदुग र खुम्बु पासाङल्हमु शेर्पा समाजद्धार संयुक्त रुपमा पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेका थिए ।
न्युयोर्कको क्वीन्स उडसाइडस्थित धर्म हाउसमा आयोजित उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम र धर्म गुरु लोपेन गुर्मे छोड्रकले विमोचन गरेका थिए ।
कार्यक्रममा राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि राईले कोरोनाको वेलाको आफुले देखेको अनुभवको आधारमा लेखेको पुस्तक निकै रोचक रहेको बताएका थिए । त्यस्तै कार्यवाहक महाबाणिज्यदुत गौतमले कोरोनाको कथा पुस्तकले त्यतिखेरको बास्तविक जीवनको बारेमा उजागार गरेको बताएका थिए । न्युयोर्कको ज्याक्सनहाइटमा चर्चित हेयरस्टालिसको रुपमा चिनिएका पासाङले ‘तल पर्र्यो सल्लेरी माथि पर्र्यो नाम्चे बजार’ साझ ढलेको थाहा पाइन, सयौ डाडा काटदै र नरोउ तिमी लगायतका आधा दर्जन बढि चर्चित गीतहरु लेखिसकेका छन् ।
पासाङ-डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको कोरोनाको कथा पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको जनाएको छ । कूल ५६६ पृष्ठको पुस्तकमा कोरोना शुरु हुन अघि लकडाउनमा घरभित्र बस्नु परेको पिडा, लकडाउनमा राहत वितरण गर्दा र लकडाउनपछिको जनजीवन लगायतको अनुभवहरु समेटिएको छ । उक्त पुस्तक लेखक शेर्पाले आाफनो बुबा फुरी गेल्जे शेर्पाप्रति समर्पित गरेका छन् ।
कार्यक्रममा आदीवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री, एनआरएनका उपाध्याक्ष बाबुराम लामा, किदुगका अध्यक्ष छिरिङ शेर्पा र खुम्बु पासाङल्हमु किदुगका अध्यक्ष ङवाङ शेर्पाले पुस्तकको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा न्युयोर्कमा क्रियासिल विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।