यस्तो छ नेपालमा स्थानीय चुनावको पछिल्लो परिणाम

२०७९ जेष्ठ १, आईतवार ११:३६

काठमाडौँ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको केही स्थानमा परिणाम आएको भएपनि धेरै स्थानमा मत गणना जारी छ । आइतवार विहान दश बजेसम्मको विवरण अनुसार स्थानीय तहको अध्यक्ष तथा प्रमुखमा एमालेले ८, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले दुई स्थान जितेको छ भने उपमा कांग्रेसले ८, एमालेले ७, माओवादी र एकीकृत समाजवादीले २/२ स्थान जितेको छ ।

थप ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । सबै महानगर र उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ । कान्तिपुरले संकलन गरेको तथ्यांक अनुसार नेपाली कांग्रेसले पालिका प्रमुख/अध्यक्षमा २ सय ६५ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले प्रमुख/अध्यक्षमा १ सय ८२ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख/अध्यक्षमा १ सय ७ स्थानीय तहमा अग्रता लिएको छ ।

चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले २६ स्थानीय तहका अध्यक्ष/प्रमुखमा अग्रता बनाएको छ । एकीकृत समाजवादी पार्टीले भने १२ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ६ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलले २७ स्थानीय तहका प्रमुख/अध्यक्षमा अग्रता बनाएका छन् ।

उपप्रमुख/उपाध्यक्षमध्ये पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले २ सय २३ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । उपप्रमुख/उपाध्यक्षमा अग्रता लिने दोस्रो स्थानमा एमाले रहेको छ । एमालेले १ सय ९७ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) १ सय २५ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीले १७, जसपाले २३, लोसपाले ६ र अन्य तथा स्वतन्त्रले २२ स्थानीय तहका उपप्रमुख/उपाध्यक्षमा अग्रता लिएका छन् ।

काठमाडौं र धनगढीमा स्वतन्त्र उमेदवारले नगर प्रमुखमा अग्रता लिएको छ । काठमाडौंमा बालेन भनिने बालेन्द्र साह र धनगढीमा गोपाल हमालले स्थापित दलका उम्मेदवारहरुलाई पछि पारेको छ ।

सम्बन्धित समाचार