ब्युटिप्याजेन्टमा फर्स्ट रनरअप भएकी किशोरीलाई आयोजकबाटै ‘बलात्कार’, कारबाहीको माग

२०७९ जेष्ठ ६, शुक्रबार १६:१८

काठमाडौं । मिस ग्लोबल इन्टरनेसनल -२०१४ फर्स्ट रनरअप भएकी किशोरीलाई बलात्कार गरेको सार्वजनिक भएपछि उक्त कार्यक्रमका आयोजक मनोज पाण्डेलाई कारवाहीको दवाव बढ्दै गएको छ ।

कार्यक्रम सकेपछि सक्सेस पार्टी भनेर बोलाइ होटल एभरेष्टमा आफूलाई बेहोस हुने औषधी मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको ती युवतीले हालै भिडियो मार्फत सार्वजनिक गरेकी छन् ।

उनले इन्टाग्राममा राखेको भिडियोहरुका अनुसार होटलमा पुगेर किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए । एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिए।

‘लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो । म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोकेर गाली गरेर । अनि अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर पछि म कसैलाई बोलाउन पठाउछु भनेको उनले भिडियोमा भनेकी छन् ।

त्यसपछि आफु कोठमा गएको र बेहोस भएको, बेला बेलामा होसमा आउदा पाण्डेले बलात्कार गरिरहेको थाहा पाएको बताएकी छन् । साथै बिहान राम्रोरी होस् खुल्दा पाण्डे नाङ्गै आफुसँग सुतिरहेको, आफु पनि नाङ्गै रहेको र बेडमा रगत रहेको उनले उल्लेख गरेकी छन् ।

त्यसपछि पाण्डेले आफुलाई कसैलाई भनेमा फोटो भिडियो सार्वजनिक गरिदिने धम्की दिएर, छ महिनासम्म लगातार यौन शोषण गरेको पनि उनले बताएकी छन् ।

छ महिनापछि असैय्य भएपछि आफ्नो साथीसँगै पाण्डेको कार्यालयमा गएर झगडा गरेको तर प्रहरीमा नगएको बताएकी छन् ।

उनले पोष्ट गरेको छोटा छोटा २० वटा भिडियोमा त्यसपछि आफुले भोग्नु परेका यौन दुर्व्यवहार, सम्बन्धहरुमा आएका समस्या, दुई पटक गरेको आत्महत्याको प्रयास आदिका बारेमा उल्लेख गरेकी छन् ।

साथै उक्त व्युटी सोमा करियोग्राफरको रुपमा रहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बालाई उक्त कुरा सुनाउँदा वास्ता नगरेको पनि उल्लेख गरेकी छन् । यस सम्बन्धमा सुब्बाले माफी मागेकी छन् ।

कारवाहीको माग

सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाही गर्न भन्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले पुँजीवादी पितृसत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गरलगायत नारा लेखिएका प्लेकार्ड बोक्दै बालुवाटारमा प्रदर्शन गरेका थिए।

सभामुखद्वारा कारवाहीको निर्देशन

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख सापकोटाले यौन हिंसाका दोषीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

 

सम्बन्धित समाचार