१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

हर्क साम्पाङ र मेयर यात्रा


Ang

११ जेष्ठ २०७९, बुधबार  

2
Shares

 

अग्नी साम्पाङ

म फुच्चे हुँदैदेखी हर्कलाई चिन्दछु । हामी दुवैको घर दक्षिण पाटामा भएपनि तापखोलाको देव्रेपाटो पर्छ, जहाँ हिउँदोमा बल्लैले एघार बजेतिर घाम लाग्छ । त्यो दिनभरमा पनि शीत नसुक्ने चोखनेको हर्क आफैं भने सेपिलो भएर बसेन । देश, ठाऊँ र समाजकोलागी चहकिला र बडो घमाईलो भएर उदाए । अहिले नेपालको साना-ठुलाका जैविक उदाहरण एक मात्र हर्क साम्पाङ हुन् । यो ऊसको बच्चैदेखीको स्वभावको नतिजा हो । म उमेरमा अलि सानो । हर्क अलि तन्नेरी । हाम्रोतिर पनि कहिलेकाहीं आऊँथे । ऊ रहेको माहौल अलि बढी रसिक हुन्थ्यो । जब ऊ बोल्यो जसले जे खाँदैछ त्यसैले सर्किनु पर्थ्यो कि लाम्टालाई कसरत हुन्थ्यो ।

२०५५ सालमा कुहुडाडाँ स्कुलबाट प्रथम श्रेणीमा एसएलसी गरेपछि धेरैजनालाई मुख उघारेको उघारेकै पनि बनाए । ऊ धरान झरे । अर्को साल एसएलसी सकेपछि म पनि धरानतिर झरेँ । त्यतिखेर भेट भो । हर्क लाहुरेको छोरा । माईला दाजु नि विदेशमा पढाईपछि सेटल भईसकेको थियो । । तर ऊ आफ्नै शिक्षण पेशामा लागिसकेका थिए । म वेरोजगार, तर महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनावतिर होमिहिडेँ । अधकल्चो राजनीतिले अधमाउरो हुदैथिएँ । एकदिन हर्कले भने- “एहोईचेऊ (साम्पाङ भाषामा आत्मीय साथीहरूलाई बोलाइने थेगो) पहिले राम्रो पढ है अनि राजनीति , मैले नेताहरूबाट सुनेको र याद भएसम्मको नक्कल शब्दमा भनेको थिएँ- “राजनीति बुझ्न जरूरी छ दाजु ”। अलिकति हाँस्दै उसले ‘बुझ्ने’ शव्दमाथी सहमति देखाए जस्तै गरे । तर त्यो सांकेतिक भाव गहण थियो । जो हामीले अस्पष्टमै टुङ्ग्याएका थियौं । मैले धरान छोडेँ । काठमाण्डौमा अनेक अधकल्चो कामहरू गरियो । जो बाँच्नलाई पर्याप्त पनि थिएन । हर्क धरानमै रहे जो घरवाला थिए ।

केही समयपछि शिक्षण व्यवसाय र पेशाले धान्न सकेन या पेशालाई धान्न सकेन । मैले बन्द गरेँ भन्ने मेसेज गरे । केही समय पश्चात म हानिएँ द्वन्दग्रस्त देश । रहर र लोभलाग्दो पेशा त थिएन । त्यैपनि आर्थिक बाध्यता राजतन्त्र फ्याँक्नुभन्दा चर्को थियो । केही बर्षपछि त हर्कले मेसेज गर्छ “एहोई हाप्तोले ?” म अफ्गानिस्तान पुगेको थिएँ । “म पनि आउनु पर्यो त्यता ।” म चकित परेँ । सोधिहालेँ- “किन ?” “अरूको पैसा चलाउनु मन लाग्दैन । आफैं कमाउनु परेन त ?” उल्टो सोधे । हामी एउटै कम्पनिमा काम गर्न थाल्यौं । तर ठाऊँ फरक थियो । म भने धेरै ठाऊँ घुम्ने बस्ने भएकोले कहिलेकाहीँ भेट हुन्थ्यो । तर हामी देश र समाजको बारेमा निरन्तर बहस गर्थ्यौं । किनकी आमाको माया घर छोडेपछि र देशको माया विदेश हिडेपछि वेस्सरी लाग्छ ।

धेरैजसो समय आँशु नै झर्छ । हर्क र मैले देशको बारेमा खुब कुरा गर्यौं । नवराज साम्पाङ पनि जोडिए । देशमा हामीले केही राम्रो काम शुरू नगर्ने हो भने हाम्रो सन्तान पनि हामी जस्तै हुन्छन् भनेर । किन त हामीले नै गर्नुपर्ने ? उत्तर पनि थियो । अनेक व्यवस्था फेरिए। संघीय लोकतान्त्रिक व्यवस्था पनि आए तर जनमानस र समाजको अवस्था फेरिएन ।  झन् २०६४ पछि विदेश जानेको लर्को लाग्यो । जननेता भनिएकाहरूको आलिशन भवनहरू राजधानीभरी उम्रिन थाले । हामी सबै झन् निराश थियौं । हर्क भने यो प्रत्यक्षदर्शी भएर नबस्ने हठ गरे । ऊ ठिकैको जागिर छाडेर नेपाल हिडे । उसले काम शुरु गरे ।

हामीलाई निरन्तर आग्रह गर्थ्यो । सोध्थे “विदेशले पुगेन ?” मेरो चाही भ्यागुते धार्नी कहिल्यै पुगेन । न गाड्धन फेला पर्यो । तर उत्तर भने ‘पुगिसक्यो’ भन्दै अड्किईरहेँ । झन् अमरिका आएपछि वार्तालाप नै पातलिन थाल्यो । अमेरिका नामले स्वर्ग नजिक हो, कामले उल्टो । नवराज डिस्कनेक्ट भो । त्यैपनि बेलाबखत भर्चुअल छलफलमा थियौं । जहिल्यै “एहोई कहिले हो आउने” उसको यो प्रश्नलाई धेरैपटक अनेक बाहानामा टारेको छु । “यसरी त हुँदैन” भनेर हप्काउँथे । म ङिच्च हाँस्दै ईमोजीमा लाज पचाउँथेँ । अझ दशकपछि पनि त्यही गरिरहेको छु । अब भने त्यो अवस्था नआउँला किनकी हर्क अचाक्ली व्यस्त हुनेछन् जनताको काममा । ङिच्च गर्दै भएपनि हर्कको अभियान भर्चुवल्ली नजिकबाटै नियालिईरहेको हुन्छु । उसले कति सत्य बोल्छन् भने। “हामी आधा केजी मासु किन्दा हड्डी नहाल भाई बोसो नहाल भन्दै छान्ने । एक केजी प्याज किन्दा, र आधा केजी गोलभेडा किन्दा पुरै ढाकी छान्ने हामीले, देश चलाउने मान्छे चुन्दा चाही छान्नु पर्दैन ?” योभन्दा जायज कुरा के हुनसक्छ ।

जनतालाई सोधेर हिडेको छ कि राजनीति के हो ? बुझ्न जरूरी छ । हर्क मात्र एक अभियन्ता हुन् जसले राजनीति जनतालाई बुझाउदै हिँड्छन् । गल्ली-गल्ली, चोक-चोक एऊटा हाते माईक लिएर । जुन ठाऊँमा हुन्छन् त्यही गुनासोलाई सिधैं सम्बन्धित निकायसम्म पुर्याउँछन् । प्रशासनबाटै पिटिईन्छन्, समातिईन्छन् । फेरी दस्तखत गराईन्छ, छोडिईन्छन् । तर सम्बन्धित निकाय चिसोको तातो हुँदैन । हर्क नै तातिनुपर्ने हुन्छ । उसको अठोट यति निर्मम छ कि “धराने जनतालाई पानी खुवाउन सकिनँ भने म एक हप्ताभित्र धरान छोड्छु ।” यो उसको हक्की स्वभाव प्राकृतिक हो । मैले चिनेको हर्क मनदेखी बोल्छन् । सम्भव कुरा मात्र गर्छन् । त्यसैले उसले गरेरै छाड्छन् । उसको समान व्यवहार र अवोध सोंच जनताबाट अनुमोदन पनि भयो । अब हर्क दाजु, मेयर हर्क भएका छन् ।

विजय हुने वित्तिक्कै भनेकाछन्, म बाईकमै हिड्छु । करोडको गाडीदेखी सडकको खाल्डाखुल्डी देखिँदैन । जसलाई पुर्न म यहाँ चुनिएको छु । कति यथार्थ र मार्मिक बोल्छन् । यो सत्यले आज देशभर उसलाई नायकको उपमा दिएको छ । ठुला मानिएका पार्टीका नेताहरूले कार्यकर्तालाई हर्कको उदाहरण दिँदै त्यसैगरी काम गर्न निर्देश गरिरहेका छन् । एकजना हिक्मत लिम्बु मित्रले त मलाई फोन नै गरेर भने, “ल है लुङ्वा म त धरान फर्किने भएँ । अब हर्क आयो । यता मेरो मनमा हर्ष छायो । मलाई लुङवाको कुराले हर्षित त बनायो नै त्योभन्दा धेर हर्क साम्पाङप्रतिको विश्वासले गर्विलो बनायो । सोचेँ, काम गर्न हर्कसँग १८सय २५ दिन छ । तँपाई हाम्रो कामना उसले सुशासन ल्याओस् । विकास गरोस् । विकासभित्र खुशी मिलोस् । र मेयर हर्कले यो तमाम काम गर्न सक्छन् । किनकी मेयर हर्क अप्ठ्याराभन्दा सम्भव कामको पछि लाग्छन् । त्यो काम गर्ने उसको आफ्नै जैविक तरिका छ । ऊ आफैमा एक स्पष्ट वक्ता, पारदर्शी, शिक्षित तथा दुरदर्शी व्यक्तित्व हुँदाहुदै आफ्नो निकटको व्यक्ति भएकोले उसलाई केही भनिदिनु पर्ने कर्तव्य ठान्छु ।

अहिलेसम्म नेपालका खानेपानी संस्थानहरूले जहिल्यै मध्यरातमा पानी छोड्छन् । खानेपानी वितरण विहानपख गर्दा राम्रो हुन्छ । जुन चोर दाऊको पानी वितरण छ, त्यसले निदाएका जनतालाई घात गर्छ । प्राय: मध्यरातमा मान्छेहरू निदाईसकेका हुन्छन् । संस्थानको दाऊ पनि त्यही हो । मेयर हर्कले धरानको लागी खानेपानी बाहेक गर्नुपर्ने केही कामहरूमा पहिलो, रयापिड रेस्पोन्स युनिट (Rapid Response Unit-RRU) खडा गर्नुपर्छ । यो युनिटले पानी र विजुलीको समस्याहरूलाई द्रुतगतिमा चौविसै घण्टा समाधान र संवोधन गर्छ । यस्तो सामान्य लाग्ने समस्या बडो जरूरी हुन्छ र एक व्यक्तिले सधैं सम्भव हुँदैन । त्यसैले एऊटा युनिटले काम गर्नुपर्छ । जुन टिम चौविसै घण्टा गाडीमा साधन तथा सामाग्रीसँग तयारी अवस्थामा हुन्छ ।

दोस्रो, दमकल र एम्बुलेन्शलाई एकै शाखा बनाएर प्यारामेडिकल टिम खडा गर्नुपर्छ । नेपालमा प्यारामेडिक नहुँदा र शीघ्र उद्धार नभइदिँदा अधिक घाईतेहरूको अकालमै मृत्यू हुनेगरेको छ । आफ्नो जनताको सेफ्टी र सेक्यूरिटीलाई उच्च ध्यान दिँदै एक जिम्मेवार न्यूनतम् सेवामुखी प्यारामेडिक खडा गर्नुपर्छ । तेस्रो, सरकारी कामकाजलाई सर्वसुलभ तरिकाले गराउनु पर्छ । त्यसको लागि डिजिटल पे या होम सर्भिसको व्यवस्था गर्नुपर्छ । अबको जमनामा विशेष गरेर धरानका घरधनीहरू धेरैजसो विदेशमा बसोबास गर्छन् । ति जनता जुन ठाऊँमा रहेका छन्, त्यहीबाट राजश्व तिर्न सकोस् । त्यो राजश्वले धरानको भौतिक संरचना छिट्टोभन्दा छिट्टो बनोस् । अन्य, सीपमूलक शिक्षा, परिणाममूखी स्वास्थ्य सेवा, व्यवस्थित बजार, सुरक्षित सडक, होहल्लारहित गाऊँटोल तथा रहरलाग्दो उपमहानगर बनाउँन स्थानीय युवाहरू तथा क्लवहरूसँग सधैं सहकार्य गर्नुपर्छ । यसको लागि Moral, Welfare and Recreation (MWR) जस्ता क्लवहरू खडा गर्न स्थानीयहरू प्रोत्साहित होस् । अन्तमा, मेयर ज्यू ! म मात्र होईन अहिले अधिक नेपाली जनताले तँपाईको तारिफ गरेर थाकेका छैनन् । यो तेज दशकौं टिक्नुपर्छ । अन्य पालिकाहरू धरानको विकास र सुशासन हेर्न छिट्टै र छुट्टै भ्रमणको तय गरून् । यो जैविक तरिका र स्पिरिड नघटोस् । महरू पनि मुग्लानदेखी छिट्टै देश फर्किने र समाजमा केही गर्ने प्रतिवध्दता गर्न कर लागोस् । आफ्नै ठाऊँमा मर्ने रहर सबैलाई छ । रमाउँने र बस्ने रहर पनि जागोस् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ३३ बजे