२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

जहाजको खोजी मानपाथी हिमालको फेदीतर्फ केन्द्रित



पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ । भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ केन्द्रित बनेको नेपाली सेनाका सेनानी प्रेम पौडेलले जानकारी दिए । स्थानीयद्वारा आशङ्का गरिएको दुर्घटना भएको ठाउँमा पुग्न कोवाङदेखि तीन घण्टा लाग्ने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेका अनुसार बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर कोवाङमा अवतरण भएको भने अर्को फिष्टेल एयरको हेलिकोप्टर जोमसोम विमानस्थलमा रहेको छ । उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थलमार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिएका छन् । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ६ : ३१ बजे