किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले खगेन्द्र राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
डालसमा शनिबार भएको महासभाले न्यूयोर्क निवासी खगेन्द्र राईलाई केन्द्रिय अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । महासभाले वरिष्ठ उपाध्यक्षमा न्यूयोर्ककै भारती राई, उपाध्यक्षमा डालस निवासी दिलिप राई, महासचिवमा कोलोराडो निवासी दिवस राई, सचिवमा न्यूयोर्क निवासी सुमन नाछिरिङ कोषाध्यक्षमा न्यूयोर्ककै सन्देश राई, सहकोषाध्यक्षमा डालसकी रुपा राई, सदस्यमा न्यूयोर्ककी वाकासा वान्तवा, शुभाश चन्द्र राई र डालसका माकुहाङ राई चयन भएका छन् ।
कूल ११ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष मार्ग दर्शकका रुपमा कार्यसमितिमा रहने ब्यवस्था छ । निवर्तमान अध्यक्ष न्यूयोर्क निवासी रामकुमार राई हुन् ।
महासभामा निवर्तमान महासचिव मार्कस राईको सांगठनिक प्रतिवदेन र निवर्तमान कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्बसम्मतिले पारित भएको थियो । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको थियो ।
निवर्तमान अध्यक्ष रामकुमार राईले नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए । नयाँ कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख आयुक्त प्रमोद थुलुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नयाँ नेतृत्व चयन गर्न गठन गरिएको निर्वाचन आयोगको आयुक्तमा पदम सिङ राई, र प्रशान यलुङ राईलाई नियुक्त गरिएको थियो ।
महासभालाई केआरएसएका सल्लाहकार मणि वाङ्देल, प्रमोद थुलुङ, केआरएसए न्यूयोर्क च्याप्टर अध्यक्ष वाकासा वान्तावा र टेक्सास च्याप्टर अध्यक्ष दिलिप राईले सम्बोधन गरेका थिए । काम गर्न र एक अर्कालाई बुझ्न सजिलो होस भनेर च्याप्टर कार्यसमितिका पदाधिकारी र सदस्यलाई केन्द्रिय कार्य समितिमा स्थान दिने ब्यबस्था केआरएसएको विधानमा गरिएको छ ।
नयाँ कार्यसमितिले बियर क्रिक पार्कमा आयोजना गरिएको साकेला उभौलीमा केआरएसएका अगुवा नेतृत्वहरुलाई सम्मान गरेको छ । महासभा र साकेला उभौलीमा सहभागि हुन ओहायो निवासी केआरएसएका पूर्ब अध्यक्ष चन्द्रकुमार राई पनि डालस पुगेका थिए ।
डालसमा साकेला
महासभाले नयाँ नेतृत्व चयन गरेको भोलिपल्ट डालसको बियर्स क्रिक पार्कमा साकेला उभौली कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा केआरएसएका नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष तथा टेक्सास च्याप्टर अध्यक्ष दिलिप राईले सम्पूर्ण किरात राई समुदाय तथा नेपाली समुदायलाई शुभकामना दिए ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपाने, तामाङ सोसाइटी टेक्सासका अध्यक्ष सूर्यकुमार तामाङ र किरात याक्थुङ चुम्लुङ टेक्सासका भुपेन्द्र लिम्बूले साकेला उभौलीका अवसरमा शुभकामना दिएका थिए ।
साकेला किरात राई समुदायको सबैभन्दा ठूलो चाड हो । यो चाड उभौली र उँधौली गरि वर्षमा २ पटक मनाइन्छ । जाडो मौसम सुरु हुने बेला बाली भित्र्याउने र जाडो छल्न लेकबाट बेंसी झर्ने बेला मनाइने चाड साकेला उँधौली हो । गर्मी सुरु भएसँगै बेंसीबाट लेक चढ्दा मनाइने साकेला उभौली हो ।
साकेला नाचले किरात राई समुदायको उत्पति, मिथक र परम्परासम्बन्धी कथा भन्छ । यो नाच प्रकृतिसँग जोडिएको छ । किरात राई समुदायहरु प्रकृति पूजक हुन् ।
केआरएसएले आफ्नो भाषा, संस्कार, संस्कृति प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाका विभिन्न राज्यमा साकेला जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।