३० भाद्र २०८१, आइतबार | Mon Sep 16 2024

नेपाली मूलका अमेरिकीलाई एनआरएन परिचयपत्र लिन दुताबासको आग्रह


Ang

२६ जेष्ठ २०७९, बिहिबार  

0
Shares

नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदूत विष्णु प्रसाद गौतमले अमेरिकन पासपोर्ट लिईसकेका नेपाली मूलका अमेरिकन नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउँदै आएको एनआरएन परिचयपत्र लिन सुझाएका छन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्धारा न्यूयोर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा १० वर्षको समयावधी हुने एनआरएन परिचय पत्रले नेपालमा सम्पत्ति लिन, संरक्षण गर्न सकिने भएकाले एनआरएन परिचय पत्रले धेरै फाईदा पुग्ने बताउदै कार्यवाहक महावाणिज्यदूत गौतमले अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरुलाई सुसूचित हुन आग्रह गरे ।

एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने एनआरएन परिचय पत्र फरक भएको बताउँदै यस विषयमा सामाजिक अगुवाहरुले सबैलाई प्रष्ट पार्न आग्रह गरेका थिए । त्यस्तै वाणिज्यदूत गणेश प्रसाद अधिकारीले पनि महावाणिज्य दुतावासले भूमार्गबाट अमेरिका प्रवेश गरेका नेपालीहरूका लागि समेत परिचयपत्र र अन्य कानुनी प्रक्रियाका लागि सजिलो होस भनेर वाणिज्य दूतावासले हस्त लिखित राहदानी समेत जारी गर्ने गरेको बताए ।

”अमेरिका वा अन्य देशमा जन्मेर नेपाली हुन नसकेकाहरूको हकमा सम्बन्धित देशमा नागरिकता प्राप्ति प्रक्रिया सुरु नगरेको अवस्था छ भने हामी उहाँहरूलाई नेपाल जानका लागि यात्राको लागि कागजात (ट्राभल डकुमेन्टको) व्यवस्था गछौ|” गौतमले भने ।

नेपाल पुगेपछि आफनो गाउँ घर पुगी त्यहाँबाट वडा वा गाउँपालिकाको सिफारिसमा नागरिकता वा परिचयपत्र लिने प्रक्रिया सुरु गर्न सकिने उनले जानकारी दिए । गौतमले ई–पासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव दिंदै नेपालबाट राहदानी नवीकरण गर्दा राष्टि्य परिचयपत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐच्छिक बनाईएको जानकारी दिए । तत्कालका लागि दुतावासले दुई वर्षको अस्थायी राहदानी जारी गर्न सक्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व उपाध्यक्ष डण्डु ढोक्प्याले अमेरिकामा रहेका नेपालीहरूको तथ्यांक संकलन गरेर त्यसै अनुसार कर्मचारीको दरबन्दी माग्न सुझाए । ढोक्प्याले भने, ”तपाईहरु वर्षौंदेखि एउटै समस्या देखाएर पन्छिनु हुन्छ, न्यूयोर्कमा बसोवास गर्ने नेपालीको संख्या ठुलो छ, संख्या गन्नुहोस् र चुस्त सेवा दिनका लागि थप कर्मचारी माग गर्नुहोस् ।” कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरुको नेपाल डे परेडका विषयमा वाणिज्य दुतावासले अभिभावकको भूमिका निर्वाह गरेर विवाद समाधान गर्न र सबै नेपालीलाई समेट्न सुझाव दिए ।

कार्यक्रमकी सभापति तथा नेजाकी उपाध्यक्ष मच्छे गुरुङले वाणिज्य दूतावासका अधिकारी र नेपाली संघसंस्थाका प्रतिनिधिलाई सूचना आदानप्रदान गर्न आग्रह गरिन् । ”तपाईहरूले सूचना दिनुभयो भने त्यसलाई हामी समाचारका माध्यमबाट नेपाली समुदायमा पुर्‍याउने कोसिस गछौं”, उपाध्यक्ष गुरुङले भनिन्, ”त्यसले समुदाय र पत्रकार बीच एक प्रकारको पुलको भूमिका खेल्छ ।”

उनले कसैले समाचार लेखेर पैसा मागेको छ भने नेजामा उजुरी गर्न समेत आग्रह गरिन् । ”नेपालदेखि नै पत्रकारिता गर्दै आएको भएकाले छोड्न नसकेर विदेशको भूमिमा पनि समुदायलाई सूसुचित गराउनका लागि हामीले स्वयंसेवाका रूपमा पत्रकारिता गरिरहेका छौ,” उनले भनिन्, ‘तर, समाचार लेखेबापत र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरे बापत कसैले पैसा माग्छ भने त्यो गलत हो, यस बारेमा हामीलाई जानकारी पाएमा कारवाही गर्छौं ।” उपाध्यक्ष गुरुङले समुदाय र पत्रकारबीच नङ र मसुबीचको सम्बन्ध रहेकोले एक अर्कालाई सहयोग गरेर अघि बढ्न समुदायलाई आग्रह गरिन् ।


नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठ, नेजाका सचिव कल्पना घिमिरे, कार्यसमिति सदस्यद्धय लोकमणि राई, अनिल अधिकारीले पनि धारणा राखेका थिए । कार्यक्रममा न्यूयोर्क र आसपासका क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ३६ बजे