४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध, कार र मोटरसाइकल खस्यो



पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले बताए । करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

यसैबीच पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।” उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १२ : २१ बजे