आफुलाई एक जना बुद्ध भिक्षुले दुर्व्यवहार गरेको भन्दै नायिका मिरुना मगरले झापड हानेपछि चर्चामा आएको ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।
रोविनकुमार लामा नाम गरेका ब्यक्तिले सोमबार उक्त फिल्मले बुद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी दर्ता गराएको हो ।
उजुरीमा फिल्मको प्रदर्शन रोक्न समेत माग गरिएको छ । उनले दृश्य काँटछाँट गरेर प्रदर्शन गर्न माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पुर्याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ’ उजुरीमा लामाले भनेका छन् ।
यसअघि नायिका मगरले फुर्वा लामाले आफुलाई भिडमा ”ब्याड टच” गरेको भन्दै झापट हान्नुका साथै प्रहरी बोलाएर थुनाए पछि विवाद भएको थियो । रामबाबु गुरुङ निर्देशित उक्त फिल्मले नेपाली फिल्म मध्ये सर्वाधिक कमाई गर्ने फिल्म परेको छ ।