प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरे ।
प्रमुख प्रतिपक्षद्धारा प्रतिनिधिसभाको बैठक बहिष्कार
प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बहिष्कार गरिएको हो । त्यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू छलफलमा सहभागी नहुने र बहिष्कार गर्ने बताउनुभएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकका सन्दर्भमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा उठेको जिज्ञासाका बारेमा जवाफ दिइरहनुभएका बेला एमालेका सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो ।एमालेले बजेट निर्माणको क्रममा राख्नुपर्ने गोप्यता नराखेको तथा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लगाएको छ ।