संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकासँग हुन लागेको भनिएको सैनिक गठबन्धन सम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे छलफल गर्नका लागि आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको थियो । तर प्रधानमन्त्री देउवा बैठकमा उपस्थित भएनन् ।
यही विषयलाई लिएर प्रतिपक्षी र सत्ता पक्षका सांसदहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका बेला हस्ताक्षर हुन लागेको भन्ने चर्चा भएपछि समितिले यसअघि परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई पनि समितिमा बोलाएर सोधपुछ गरिसकेको छ ।
तर आइतवार प्रधानमन्त्री देउवा बैठकमा नआएपछि प्रतिपक्षी एमालेका सांसदहरु उनले संसदलाई छल्न खोजेको भन्दै चर्कीएका थिए भने सत्तापक्ष कांग्रेसका सांसदहरुले त्यसको प्रतिवाद गरेका थिए । अन्त्यमा समितिले प्रधानमन्त्री देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बिहान ८ बजे देउवाको सचिवालयले प्रधानमन्त्रीको समय नभएकाले बैठकमा आउन नसक्ने जानकारी समितिलाई दिएको बताइएको छ । प्रधानमन्त्री नआउने जानकारी पछि एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए। अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरेका थिए।
कांग्रेस सांसदहरूले भने समिति बैठकमा प्रधानमन्त्री नआउनु सामान्य कुरा भएको भन्दै यसबारे कुनै निर्णय गर्नु नपर्ने तर्क गरेका थिए । सुरूमा समितिले प्रधानमन्त्री संसदीय समितिमा नआउनु लोकतन्त्र र संसदीय व्यवस्थाकै लागि प्रतिकुल भएको व्यहोरासहितको निर्णय गर्न लागेको थियो । तर कांग्रेस सांसदहरुले प्रतिवाद गरेपछि सांसदहरूको वादविवादकै बीच समिति सभापति पवित्रा निरौलाले प्रधानमन्त्री देउवालाई अनुपस्थित हुनुको कारण सोध्ने निर्णय सुनाइन् ।








