रन्जु दर्शनाले आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने घोषणा गरेकी छन् । उक्त क्षेत्रमा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल उम्मेदवार छन् । आइतबार फेसबुकमार्फत विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
यसअघि नै उनले काठमाडौं ५ बाट उठ्ने आफ्नो तयारी रहेको र केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने बताएकी थिइन् । उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएकी छन् ।
‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु‚’ उनले लेखेकी छन् ।
दर्शनाले यसअघि २०७४ सालमा विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर चर्चा कमाएकी थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी दिएर २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् ।