१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

ओलीद्वारा बजेटबारे संसदीय छानविन माग



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिले प्रवेश पाएको भन्ने विषयमा संसदीय छानविनको माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले सो प्रकरणबारे संसदीय समिति बनाएर छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।

यसअघि अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयबाटै अवकास लिइसकेका एक जना नायव सुब्बालाई बजेट भाषणको अघिल्लो मध्यराती अनाधिकृत रुपमा बजेट बनाउने मन्त्रालयका उच्च अधिकारीहरुसमक्ष पठाएर करको दर हेरफेर गरेको र त्यसले केही व्यापारिक घरानालाई फाइदा पुर्‍याएको भन्ने समाचार बाहिरीएपछि अलोचना भइरहेको छ ।

एमालेले त्यस विषयमा लगातार छानविनको माग गरेको भएपनि सरकार र संसदले वेवास्ता गरिरहेको छ ।

यसैबीच उपभोक्ता संरक्षण मञ्चको तर्फबाट अर्थमन्त्रालयसँग त्यस अवधीको सीसीटीभी फुटेज माग गर्दा मिटिइ सकेको भन्दै उपलब्ध नगराएपछि ओलीले यस सम्बन्धमा संसदीय छानविनको माग गरेको हो ।

साथै उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : १४ बजे