२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए



अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।

यसअघि उनले बैठकमा बोल्दै आफूप्रति राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । उनले बजेट निर्माणमा स्थापीत मान्यता अनुसार तोकिएका व्यक्तिबाट मात्र संलग्न गराएको दाबी गरेका थिए ।

‘छानबिन समितले छानबिन गरोस् । स्थापित पद्दति र तोकिएका आधिकारिक व्यक्तिबाट बजेट बनेको छ । यो सच्चाईले कसैले ढाकछोप गर्न सक्दैन’ प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ।

उनले मन्त्रालयको सीसीटीभीबारे आफूलाई थाहा नभएको उल्लेख गरे । ‘कुन सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ? डिलिट गरेको भन्ने कुरा म खारेज गर्छु । म कसरी डिलिट गर्छु’ उनले भने ।

उनले संसद्मा आएर बोल्न नपाउनेगरी आफूले के कस्तो नैतिकता गुमाएँ भन्दै प्रश्न गरेका छन् । ‘मैले संसद्मा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ? के कारणले म अनैतिक भएँ ? शर्माले भने,’जे देखियो त्यो पूर्वाग्रहको पराकाष्ठा हो ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ३९ बजे