किर्तीमानी आरोही तथा नेपाल पर्वतारोहण संघका संस्थापक मध्येका एक शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ तामाङ संस्कार अनुसार सोमबार बिहान स्वयम्भुमा अन्त्यष्टि गरियो । उनको बिहीबार ७० वर्षको उमेरमा हरिसिद्ध क्यान्सर अस्पतालमा निधन भएको थियो । उनलाई नेपाल प्रहरीको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।
लिसंखुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक घर भई हाल महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन १७ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरी सर्वोच्च शिखरमा पाइला राख्ने सबैभन्दा कान्छा आरोहीको रुपमा किर्तीमान राखेका थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरेर उनले गिनिज बुक रेकर्ड राखेका थिए ।

पछि तामाङकै पहलमा कुमार खड्ग बिक्रम सिंहको नेतृत्वमा नेपाल पर्वतारोहण संघको स्थापना हुँदा उनी सदस्य रहेका थिए । ”मैले युरोपमा गाइडहरुको संस्था देखेको थिएँ, त्यसै भएर नेपालमा पनि पर्वतारोहण सम्बन्धी एउटा संस्था भए नेपालको हिमाल प्रचार गर्न सजिलो हुन्थ्यो भनेर संस्था खोल्न पहल गरेको थिएँ” उनले गत वर्ष हाइलाइट्स टुरिजमसंगको कुराकानीको क्रममा भनेका थिए, ”यही क्रममा कुमार खड्का बिक्रम सिंहको नेतृत्वमा नेपाल पर्वतारोहण संघ खुल्यो म सदस्यमा बसें ।”









