२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी



कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगर लस एन्जलसमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ ।

अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने सोचमा सरकार रहेको स्वास्थ्य निर्देशक बारबरा फेरेरले बताइन् । बिरामीको चापलाई हेरेर निर्णय गरिने पनि उनले बताइन् ।

महानगरका अधिकांश बासिन्दा अनुहार मास्क लगाउन बानी परेका छन् । केही वर्षदेखि लगातार मुखौटोले आफ्नो अनुहार छोप्दैआएका निक बारगन घरबाहिर काममा निस्कँदा मास्क लगाउन भुल्दैनन् । अब आफूलाई मास्क लगाउने बानी परेको उनी बताउँछन् ।

देशव्यापीरूपमा कोभिड–१९ नयाँ प्रजाति बिए फाइभको सङ्क्रमण बढेको छ । नयाँ ओमिक्रोनका प्रजातिले अमेरिकी राज्यहरूमा बिरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढाएको छ भने बिरामीको मृत्युदरमा पनि वृद्धि भएको छ ।

रोगको रोकथामका लागि सरकारीस्तरमा सचेतना प्रयास जारी छ । केही स्वास्थ्य विज्ञले सुरक्षात्मक उपाय अवलम्बन गर्न बिलम्ब भएको बताएका छन् । स्क्रिप्स रिसर्च ट्रान्सलेसन इन्सटिच्युटका डा इरिक टोपलले बिए फाइभको सङ्क्रमण घातक भएको चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ५ : १० बजे