क्रिकेटका राष्ट्रिय मुख्य प्रशिक्षक दासानायकेद्वारा राजीनामा

२०७९ श्रावण ४, बुधबार १७:४७

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बुधबार राजीनामा दिएका छन् ।

स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ(क्यान) लाई ५ दिन अगाडि नै राजीनामा बुझाएको पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

नितान्त व्यक्तिगत कारणले आफूले राजीनामा दिएको दासानायकेले बताए । ‘मैले नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । मैले क्यानडामा परिवारलाई समय दिन आवश्यक छ । अबका केही वर्ष मैले क्यानडाबाहिर काम गर्न सक्ने अवस्था छैन’ उनले भने ।

त्यस्तै उनले नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने पनि बताए । श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका दासानायके पछिल्लो दुई दशकदेखि क्यानडामा बस्दै आएका छन् ।

दासानायकेले गत डिसेम्बरमा नेपालको प्रशिक्षकका रूपमा दोस्रो पटक जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा सफल मानिएका दासानायकेको नेतृत्वमा दोस्रो कार्यकालमा भने नेपालले उल्लेख्य प्रदर्शन गर्न सकेन । फेब्रुअरीमा विश्वकप छनोटमा शीर्ष २ मा पर्ने लक्ष्य राखे पनि नेपाल तेस्रो भएको थियो ।