६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

पर्वतारोहणमा सानु शेर्पाले रचे इतिहास



  • विश्वको १४ वटै आठ हजार मिटर माथिका हिमालको दोहोर्‍याएर चढे

काठमाडौं । नेपाली पर्वतारोही सानु शेर्पाले ८ हजार मिटरभन्दा अग्ला विश्वकै १४ वटा हिमाल दोहोर्याएर चढ्ने किर्तीमान राखेका छन् । यद्यपी यो किर्तीमानले उनले ती सबै हिमाल मध्ये अन्तिम्मा बिहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ आरोहण गरेर किर्तीमान राखेका हुन् ।

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुटेका थिए । यही सिलसिलामा उनले यसैवर्षको बसन्त याममा मकालु र कञ्चनजंग हिमालको पनि दोहोर्याएर आरोहण गरेका थिए ।

सरल तर हिमाल आरोहणमा अब्बल सानु केही वर्षयता चुपचाप आफ्नो त्यो विशेष उद्देश्य पूर्तिका लागि लागि रहेका थिए । उनले हाइलाइट्स टुरिजमसँगको एक अन्तरवार्तामा भनेका थिए, ”विश्व रहेका ८ हजार भन्दा माथिका १४ वटै हिमाललाई दोहोर्याएर आरोहण गर्ने हो ।”

उनले यो अभियानका लागि धेरै हल्लाखल्ला गरेनन्, न त ठूला प्रायोजकहरु नै खोजे । बरु खुरुखुरु आफ्नो काम गरिरहे, आफ्नो अभियानमा अविचलित रहे । ”लागि रहेको छु तर कुनै स्पोन्सर छैन” सानुले हाइलाइटस् टुरिजमसँग भनेका थिए, ”आफ्नो तर्फबाट प्रयास गर्ने हो ।”

सानुको यो रेकर्डले नेपाल र नेपाली पर्वतारोहणको नाम विश्व रङ्गमञ्चमा थप परिचित गराएको छ । औपचारिक शिक्षा लिन नपाएका, बाबुआमासँगै खेतिकिसानीमै सानुको बाल्यकाल बित्यो । उनले ३१ वर्षको उमेरमा गाउँ छाडेर काठमाडौँमा आइ ट्रेकिङ हुँदै पर्वतारोहणको क्षेत्रमा प्रवेश गरेका हुन् । उनको छोराछोरीहरू काठमाडौँमा बसेर पढ्दै गरे पनि श्रीमती डिकी अझै गाउँमै घरव्यवहार धानेर बसेकी छन् ।

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चोयू चढ्ने मौका पाए । न तालिम न त पूर्व अनुभव उनले एकै पटक ८ हजार १८८ मिटरको हिमाल चढ्न परेको थियो । यद्यपि कुनै बाधा व्यवधान आरोहण गरे, आफूसँगको आरोहीलाई पनि सकुशल चढाए । त्यसपछि उनको आरोहण करियर अघि बढ्यो । अझै पनि उनी यही पेसामा छन् । अहिले आएर ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गरी देशको चम्काएका छन् ।

सानुले हालसम्म चढेका हिमाल
अन्नपूर्ण – २०१६, २०२१
ब्रोड पीक – २०१४, २०१७
चोयू – २००६, २००८
धौलागिरी – २०१९, २०२१
एभरेष्ट – २००७, 2008, २००९, २०१२, २०१३, २०१६, २०१७
गोसेर्व्रुम २ – २०१९, २०२२
गोसेर्व्रुम १ – २०१३, २०१९
के२ – २०१२, २०२१
कञ्चनजंग – २०१४, २०२२
ल्होत्से – २००८, २०२१
मकालु – २०१९. २०२२
मनस्लु – २०१०, २०११, २०१६
नागा पर्वत – २०१७, २०१८, २०२२
सिंसापाङ्मा – २००६, २०११

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ५ : १४ बजे