१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

विवादित् शर्मा पुन: अर्थमन्त्री नियुक्त



विवादमा तानिएपछि राजीनामा दिएका जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त गरिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि शर्माले राजीनामा दिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएका थिए ।

बजेट निर्माणको अन्तिम् समयमा अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र लगेर केही व्यापारिक घरानाको स्वार्थमा राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उक्त प्रकरणमा छानबिनका लागि संसदीय विशेष समिति गठन भएपछि उनले राजीनामा दिएका थिए ।

अर्थमन्त्री छँदा शर्माले केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । करको दर हेरफेर गर्न उनले बजेट भाषणको अघिल्लो रात (जेठ १४ गते) राजस्व प्रशासनमा लामो समय काम गरेर अवकाश भएका नायब सुब्बा रघुनाथ घिमिरे र अर्का एक चार्टर्ड एकाउन्टेन्टलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको उनीमाथि आरोप लागेको थियो ।

उक्त प्रकरणमा संसदीय छानबिन विशेष समितिले शुक्रबार बजेट निर्माणका बेला अनधिकृत मानिहरु सहभागी भएको प्रमाण नभेटिएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बन्दै आएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ३९ बजे