६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

सप्तकोसी पुरानै धारमा फर्किंदा बस्ती प्रभावित



सप्तकोसी पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका छन् । सप्तकोसीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् ।

अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाँउबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बढलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएको हो ।

बेलका नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएको उनले बताए । बेलका-३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन् ।

केही बेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुन सक्ने अध्यक्ष आचार्यले बताए ।

बराक्षेत्रका पाँच सय परिवार श्रीलङ्का टापुमा

उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

कोसी नदीको बाँध फुटेर गाउँ पस्दा बराहक्षेत्र–६ र ९ का पाँच सय घरपरिवारका दुई हजार पाँच सयजना फसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरु श्रीलङ्का टापुमा फसेको उनले बताए । त्यस क्षेत्रका स्थानीयवासीलाई स्थानान्तरण गर्ने प्रयास गरे पनि उनीहरु आउन नमानेको र फसेकाहरु सुरक्षित रहेको बताएको सुनसरीका प्रजिअ यादवले बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  २ : ३३ बजे