काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकबाट बहुमतको आधारमा जस्ताको तस्तै पारित गरिएको हो । बैठकमा उपस्थित १९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन ।
यसअघि, उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै आठ बुँदासहित साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् ।
प्रतिनिधिसभाबाट पुनः पारित उक्त विधेयक अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाको यही भदौ ६ गते बस्ने पहिलो बैठकमा राष्ट्रपतिको विधेयकमाथि पुनःविचार गरियोस् भन्ने सन्देश टेबल हुने सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिएका छन् । त्यसपछिको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश टेबल गरिन्छ र सो विधेयकमाथिको छलफल प्रक्रिया प्रारम्भ हुने उनले बताए । राष्ट्रियसभामा छलफल भई विधेयक पारित भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ ।
पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
के छ यस नागरिकता विधेयकमा ?
नागरिता विधेयक धेरै लामो समयदेखि छलफलमा रहेर यो सरकारले फेरी त्यसमा नयाँ प्रावधानहरु राखेर ल्याएको थियो । सरकारले संसदबाट पुन पास गरेको विधेयकमा यसअघिको विधेयकमा सहमति जुटेका विषय समावेशसहित दुईवटा नयाँ विषय समेटिएका छन् । एक आमा बाबु नभएका, बाबुको पहिचानसमेत नभएकाले नागरिकता नपाएका युवाहरूले नागरिकता पाउन सक्ने व्यवस्था रहेको छ भने अर्को गैरआवासीय नेपालीलाई नागरिकता दिइनेछ ।
गैरआवासीय नेपालीले पनि नागरिकता पाउनुपर्ने लविङ गैरआवासीय नेपाली संघले लामो समयदेखि गर्दै आएको छ । अहिले देउवा सरकारले संघको माग बमोजिम नै गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्था गरेर विधेयक ल्याएको छ ।
यसकारण फिर्ता गरे राष्ट्रपतिले नागरिकता विधेयक
नेपाल नागरिकता विधेयक पारित भएकामा एनआरएनएद्वारा स्वागत