महाअभियोग लागेर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदको महाभियोग सिफारिस समिति बुधबार चार घण्टा बयान दिएका छन् । उनको बयान चार घण्टामा नसकिएपछि बिहीबारलाई फेरी बोलाइएको छ ।
बुधबार समितिमा उपस्थिति भएका राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको हो । समितिले राणालाई सोध्न ४३ प्रश्न तयार पारेको छ । तर बुधबार चार घण्टामा जम्मा चार प्रश्नमात्र सोध्न भ्याइएको बताइएको छ ।
समिति समक्षको बयानमा राणाले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन् । बयान दिने क्रममा उनले महाभियोग प्रस्ताव आउनुका पछाडि विभिन्न व्यक्तिको स्वार्थ जोडिएको टिप्पणी गरेका हुन् ।
उनले पूर्व न्यायाधीशहरुले बाहिरबाटै अदालत चलाउन खोजेको, बारका पदाधिकारीहरुले न्यायाधीश हुने चाहेको, बाबुराम भट्टराई र माधव नेपालले बालुवाटार जग्गा काण्डबाट जोगिन खोजेको, आफुभन्दा पछिका न्यायाधीशलाई महत्वकांक्ष जागेको आदि आरोपहरु बयानका क्रममा लगाए ।
‘तत्कालीन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश माग्नुभएको थियो । महासचिव लीलामणि पौडेलले चेम्बरमै आएर मुख्य न्यायाधीश माग्नु भएको थियो,’ राणाले वयानका क्रममा भनेका छन्, ‘त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ्य थियो । तर म मानिनँ । विधि र शासनको पालना गर्छु भनें । त्यही भएर उहाँहरू मेराविरूद्ध लाग्नुभएको हो ।’
११ सदस्यीय महाभियोग सिफारिस समितिमा राणाले आफूमाथि लागेको महाभियोगबारे सफाइ दिइरहेका छन् । जवाफ दिने क्रममा उनले सांसदहरूलाई समेत प्रतिप्रश्न गरिरहेका छन् । समितिमा रहेका नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले राणाले सीमा बाहिर गएर कतिपय जवाफ दिइराखेको बताए ।
‘उहाँले महाभियोग किन ढिला भयो भन्ने सम्मको जिज्ञासा राख्नु भएको छ,’ विश्वकर्माले भने, ‘उहाँले कतिपय प्रश्नमा सीमा बाहिर गएर जवाफ दिइराख्नु भएको छ ।’









