६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

बालेन साहको साहसिक काम



  • सान्त रिसाल – न्यूयोर्क, अमेरिका

काठमाडौँमा प्रमुख राजनीतिकक दलहरुको सिन्डिकेट छ । यहाँ नेकपा एमाले, नेपाली काँग्रेस, माओवादीलगायतका दलले कसैलाई पनि राम्रो काम गर्न दिँदैनन् । आफू कमजोर भइन्छ भन्ने हीनताबोध छ ती दलमा ।

त्यही हीनताबोधले बालेन साहलाई काम गर्न दिइएको छैन । स्वतन्त्र उम्मेदबार भई अत्यधिक मतले काठमाडौँ महानगर पालिकाकाको मेयर जितेका युवा इन्जिनियर साहले काठमाडौँलाई राम्रो बनाउन खोजेका छन् । उनले यहाँको प्रमुख समस्याका रुपमा रहेको फोहोरमैला व्यवस्थापन गर्ने, ट्राफिक जाम समस्या समाधान गर्ने, पार्किङको व्यवस्था गर्ने, अवैध भौतिक संरचना हटाउने अभियान सुरु गरेपछि प्रमुख दलका नेता तथा कार्यकर्ताको निद्रा हराम भएको छ ।

लेखक

मेयर साहले राजधानी काठमाडौँलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजना अगाडि सारेसँगै उनको काममा अवरोध सिर्जना गरिएको छ । काम गर्न नदिन उनीविरुद्ध अदालतमा मुद्दा दायर गर्ने सम्मका निकृष्ट काम गरिएको छ । राम्रो काम गर्नेलाई प्रोत्साहन, सहयोग र समर्थन गर्नुको साटो सास्ती दिने काम भएको छ । मेयर साहलाई असफल बनाउन दलका नेता तथा कार्यकर्ता दिलो ज्यान दिएर लागेको छन् । यो अत्यन्तै निन्दनीय काम हो । काठमाडौँलाई व्यवस्थित र सुन्दर, प्रदुषणमुक्त सहर बनाउनुपर्छ ।

यो देशको राजधानी सहर हो । मेयर साहसँग काठमाडौँलाई व्यवस्थित बनाउने भिजन छ । त्यही भएर नै उनले यहाँको युवापुस्ताको सहयोगमा अप्रत्यासित रुपले मेयर जितेका हुन् । यहाँका युवापुस्ताको सहयोग र समर्थन उनलाई छ । उनले देखेको सुन्दर काठमाडौँको सपना साकार गर्न उनले अगाडि सारेका काममा साथ दिनुपर्छ । काठमाडौँलाई सधै भद्रगोल बनाएर फोहोर राजनीति गर्दै आएका दल र तिनका नेतालाईमात्र मेयर साह आँखाको कसिङ्गर बनेका छन् । उनलाई असफल बनाउन सकियो भनेमात्र राजनीति जोगिन्छ भन्ने भ्रम पालेका नेता तथा कार्यकर्तालाई अब महानगरवासीले राम्ररी चिन्नुपर्छ । भोटको राजनीति गर्ने, सधै काठमाडौँलाई अस्तव्यस्त बनाउने र राजनीतिक स्वार्थ पूरा गर्ने दल र तिनका नेतालाई राम्रर चिन्नुपर्छ ।

दीर्घकालीन सोच केही पनि नभएका उनीहरु सधै राजधानीलाई अस्तव्यस्त बनाएर, महानगरवासीलाई दुःख दिएर शासन गर्न चाहन्छन् । मेयर साहले त्यसको विकल्प दिन चाहेका छन् ।
मेयर साहले यसरी अत्यधिक मत ल्याएर चुनाव जित्छन् भन्ने दलका नेता र कार्यकर्तालाई लागेको थिएन् । विगतदेखि वर्तमानसम्म हालीमुहाली गर्दै आएका दलका नेता तथा कार्यकर्तालाई उनको जितले ठूलो धक्का लाग्यो । भाग खोसियो भन्ने लागेर नै मेयर साहलाई असफल बनाउन फोहोर उठाउन नदिएर फोहोरी राजनीति सुरु गरे । फोहोर व्यवस्थापन गर्न विकल्प दिए । उनले राजधानीका बनाइएका अनधिकृत संरचनाहरु धमाधम भत्काउन र कानुनको दायरामा ल्याउने प्रयास सुरु गरेका छन् । यो काम दलका नेता तथा कार्यकर्तालाई मन परेको छैन । बालेनलाई असफल नबनाए आफ्नो राजनीति सकिने डरले आक्रान्त उनीहरुले हरेक तिकडमबाजी गर्दैछन् ।

यस पटक काठमाडौँको मयेर सजिलै जितिन्छ भन्ने एमाले र काँग्रेसलाई लागेको थियो । तर दुवै पार्टीले नराम्ररी हार खाए । काठमाडौँका सचेत नागरिक, युवापुस्ताले बालेनलाई मन पराए । बालेनलाई जिताउन कम्मर कसेर लागे र जिताए पनि । अब उनलाई सफल बनाउन पहिलेभन्दा पनि ठूलो सहयोग र समर्थन आवश्यक छ । प्रमख दल र तिनका कार्यकर्ता ज्यान फालेर बालेनलाई असफल बनाउने अभियोनमा लागेकाले यो षडयन्त्र चिर्दै बालेनलाई सफल मेयर बनाउन नगरवासीकै सहयोग आवश्यक छ । वास्तवमा यो सतीले सरापेको मुलुक रहेछ । राम्रो काम गर्नेलाई जस दिइँदैन । जसरी पनि असफल बनाउने षडयन्त्र हुन्छ यहाँ । अब यो षडयन्त्र चिर्नैपर्छ र षडयन्त्रकारीलाई बहिष्कार गर्नैपर्छ ।

देशको राजधानी काठमाडौँलाई सुन्दर र व्यवस्थित बनाउनुपर्छ । यस सहरमा विश्वकै आँखा पर्छ । देशको इज्जत र प्रतिष्ठासँग गाँसिएको यो सहरलाई बिगार्ने अधिकार कसैलाई पनि छैन । मेयर साहले काठमाडौँलाई राम्रो बनाउन दिलो ज्यानले काम सुरु गरेका छन् । उनलाई सबैले सहयोग र समार्थन गरी सफल मेयर बनाई काठमाडौँलाई सुन्दर सहर बनाउनुको विकल्प छैन । बालेनलाई असफल बनाउने षडयन्त्रलाई चिर्न सकिएन भने फोहोरी राजनीतिले काठमाडौँ थप अस्तव्यस्त बन्नेछ ।

लामो समयदेखिको दलीय सिन्डिकेको सिकार बनेको काठमाडौँलाई अब यो सिन्डिकेटबाट मुक्त गर्नैपर्छ । आफूले पनि राम्रो काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने रोग छ यहाँ । यो रोगलाई अन्त्य गर्नैपर्छ । मेयर साह युवापुस्तामाझ लोकप्रिय छन् । हरेक युवाले उनको योजना सफल बनाउन सहयोग गर्ने हो भने उनीविरुद्ध भइरहेको षडयन्त्रलाई विफल पार्न सकिन्छ । बालेन असफल भए भने राजधानी काठमाडौँ नै असफल हुन्छ । उनलाई सफल बनाउनु भनेको काठमाडौँलाई सुन्दर बनाउनु हो । यो कुरालाई सबैले बुझेर आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ ।

बालेनले काठमाडौँका अनधिकृत संरचना हटाउन हिम्मतका साथ डोजर चलाएसँगै उनीमाथि थप षडयन्त्र भएको छ । सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण गर्ने राजनीतिक प्रवृत्तिले काठमाडौँ कुरुप भएको हो । दलीय शक्तिको आडमा धेरै ठाउँमा यो समस्या देखिएको छ । मेयर साहले हिम्मत गरेर अतिक्रमित संरचना हटाउन थालेपछि दलका नेता तथा कार्यकर्ताको सातो गएको छ । उनीहरुले बालेको चर्को विरोध गर्दैछन् । अब उनी कुनै हालतमा यस कदमबाट पछि हट्नु हुँदैन । अतिक्रमित संरचनाहरु हटाएरै छाड्नुपर्छ । दलका नेता तथा कार्यकर्ताले जतिसुकै षडयन्त्र गरे पनि आफ्नो अभियानबाट पछि नहटी डटेर काम गर्नुपर्छ ।

सबैखाले षडयन्त्र चिरेर बालेनले राम्रो काम गर्नुपर्छ । ठूला दलका नेता तथा कार्यकर्ताले उनलाई सुरुदेखि नै काम गर्न अवरोध सिर्जना गरे । दलका नेता तथा कार्यकर्ताले आफ्नो वापौती सम्झेर राजधानीलाई अहिलेसम्म जसरी कुरुप बनाउँदै आए अब जसरी पनि उनीलाई असफल बनाउनुपर्छ । राजधानीलाई कुरुप बनाउने उनीहरुलाई कुनै अधिकार छैन । बालेनको सफलतासँगै राजधानीको भविष्य गाँसिएकाले पनि अब राजधानीवासीले आवाज उठाउनैपर्छ दलीय सिन्डिकेटविरुद्ध । उनलाई काम गर्न अवरोध गर्ने जो कोहीलाई पनि सामाजिक बहिष्कार गर्दै काठमाडौँलाई सभ्य, सफा, सुन्दर, प्रदुषणमुक्त सहर बनाउनुपर्छ । बालेनलाई असफल बनाउनेलाई सबै मिलेर बहिष्कार गर्दै राजधानीलाई व्यवस्थित बनाउनु आजको प्रमुुुख आवश्यकता हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ३७ बजे