१५ मंसिर २०७९, बिहिबार | Thu Dec 1 2022

पाकिस्तानको बाढीबाट तीन करोड तीसलाख पीडित, शिविरहरुमा ३७ लाख गर्भवति



पाकिस्तानले हालैको बाढीबाट तीन करोड ३० लाख पीडित भएका छन् । पाकिस्तान सरकारले ती पीडितहरुलाई सहयोगको अपील गरेको छ। बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको प्रतीक्षामा रहेका तीन करोड ३० लाख आफ्ना नागरिकका निम्ति सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको हो ।

सङ्घीय योजना मन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका, ज्यान गुमाउने र घरबारविहीन हुनेको सङ्ख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् ।

“पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको यो घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,” पत्रकार सम्मेलनमा उनले आह्वान गरे । सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ ।

संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन् महासचिव गुटरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थितिबारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्दै छन् ।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ । जुनको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरामा परेरर चार सय ४१ बालबालिकासहित एक हजार दुई सय ६५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि प्रधानमन्त्री शाहबाज शरीफले पनि सहायताका निम्ति गर्नुभएको आह्वानको तत्काल जवाफ प्राप्त भएको थियो । फलस्स्व्रुप विभिन्न देशले राहत सामग्री इस्लामावाद ल्याएका थिए ।

शिविरहरूमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् ।

उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो प्रान्तमा १३४, ०००भन्दा बढी झाडापखाला र ४४,००० मलेरियाका घटनाहरू रिपोर्ट गरिएको छ ।
गत अगस्ट ३० मा संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, यौन तथा प्रजनन स्वास्थ्य निकायले बाढी प्रभावित क्षेत्रमा कम्तिमा ६५०,००० गर्भवती महिलाहरू रहेको र जसमध्ये ७३,००० जना यस महिनामा सुत्केरी हुन लागेको उल्लेख जनाएको छ। बाढीपीडितहरूमध्ये हालसम्म एक लाखभन्दा बढी चर्मरोगबाट पीडित छन् भने १०० भन्दा बढी सर्पदंश र ५०० भन्दाबढी कुकुरको टोकाइबाट पीडित भएको डन अखबारले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघ एजेन्सीले महिला र केटीहरू लैङ्गिक-आधारित हिंसाको बढ्दो जोखिममा रहन सक्ने चेतावनी जारी गरेको छ । किनकि बाढीबाट करिब १० लाख घरहरू क्षतिग्रस्त भएका छन् र विस्थापित परिवार सुरक्षित आश्रयस्थलको खोजीमा छन् ।

पाकिस्तानले यस वर्ष अभूतपूर्व बाढीको सामना गरेको छ जसले देशका करिब तीन करोड तीस लाख मानिसहरूलाई असर गरेको छ भने दशौं हजार मानिसहरूलाई विस्थापित गरेको छ।
स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको प्रतिवेदनअनुसार विगत दुई महिनामा सिन्धबाट १ लाख ३४ हजारभन्दा बढी झाडापखालाका घटनाहरू रिपोर्ट गरिएका छन्।
त्यस्तै यस वर्षको जुनदेखि हालसम्म ४४ हजार ८३२ औलोका बिरामी फेला परेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ५ : ५२ बजे