२३ मंसिर २०८०, शनिबार | Sat Dec 9 2023

रविले हिरासतमा रहेका सुरक्षागार्डलाई भेटेपछि छानविन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो



पर्यटन जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको भन्दै पक्राउ गरिएका भिएसएफका सुरक्षागार्ड शेरजंग गुरुङसँग खिचेको तस्बिर रवि लामिछानेले सार्वजनिक गरेपछि प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । हिरासतमा राखिएको व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानबिन गर्न निर्देशन दिएको बताइएको छ ।

छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।

रविले गुरुङसँगको फोटो पोष्ट गर्दै ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर धन्यवाद दिएको’ उल्लेख गरेका छन् । उनले ‘कानुन सबैलाई बराबर हुने’ समेत उल्लेख गरेका थिए ।

आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्‍यो ।’

शुक्रबार क्यानडाको भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले ‘लाइनमा आउनुस्’ भनेका थिए । त्यसक्रममा विवाद भएको थियो । केहिबेरमा प्रहरीले उनलाई मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ४१ बजे