२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रिय क्रिकेट टीम क्याप्टेन सन्दीपविरुद्ध बलात्कारको उजुरी, निलम्बन गर्नेबारे छलफल



राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेबिरुद्ध नावालिक बलात्कारको उजुरी परेको छ । उनीबिरुद्ध एक किशोरीले जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गराएका हुन् ।

प्रहरीले प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको उल्लेख गर्दै अनुसन्धान सुरु भएको जनाएको छ ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो ।

‘बलात्कार जस्तो घटनामा प्रहरी संवेदनशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुकले भनेका छन् ।

काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले उनीसँग भेट्ने प्रस्ताव राखेका थिए ।

‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ एक प्रहरी अधिकृतले भनेका छन्, ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।

लामिछाने ६ भदौमा टी-२० सिरिज खेल्न केन्या जानु अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।

क्रिकेट संघसंघमा सन्दीप बारे छलफल

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफल गरेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको बताइएको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  २ : ०० बजे