६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

बहाल कर बुझाउन सेना र प्रहरीलाई बालेनको पत्र



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्नका लागि ताकेता गरेका छन् । मेयर शाहको निर्देशनमा महानगरको राजस्व विभागले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन भन्दै पत्र लेखेको हो ।

महानगरले ती कार्यालयहरूले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले वडा कार्यालयमा बहाल कर बुझाउन पटक पटक ताकेता गरे पनि नबुझाएको जनाएका छन् ।

बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गएर नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले भनेको छ ।

तोकिएको मितिभित्र बहाल कर नबुझाए महानगरापलिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ५ : ०४ बजे