२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

स्की आरोही हिलारी नेल्सन मृत फेला



उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमबारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छिन् । अमेरिकी नागरिक नेल्सन बुधबार बिहान मृत भेटिएकी हुन् ।

नेल्सनको शव उद्धार गरी सामागाउँ ल्याएर मुचुल्का उठाएर हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिएका छन् । “आवश्यक प्रक्रिया पूरा गरी सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ टिचिङ अस्पतालमा शव पठाएका छौँ”, उनले भने ।

काठमाडौँको साङ्ग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका छन् ।
हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएका हुन् । नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होत्से हिमालको चुचुरोबाट अवरोहण गेका थिए ।

आठ हजार मिटरमाथिको दुई हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । अमेरिकाको सियाटलमा जन्मेकी हिलारीलाई सन् २०१८ मा नेशनल जोग्राफिले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ४२ बजे