प्यारग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका खेलाडी निसिम थापाको मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । खेलकुदमन्त्री महेश्वरजंग गहतराले उक्त पदक उनका काका भेनिसलाई प्रदान गरे ।
नवौं राष्ट्रिय खेलकुदमा खेलकै क्रममा दुर्घटनामा परेर थापाको मृत्यु भएको थियो । उनको असोज ३० गते प्याराग्लाइडिङ अन्तर्गत क्रसकन्ट्री विधामा प्रतिस्पर्धा गर्दैगर्दा दुर्घटनामा परी मृत्यु भएको थियो ।
गोरखा स्थायी घर भई हाल पोखरा–१० बस्दै आएका थापा नेपाल आर्मीसँग करारमा अनुबन्ध भएर नवौं राष्ट्रिय खेलकुदमा सहभागी थिए ।
खेलकै क्रममा ज्यान गुमाएका उनलाई बिहीबार मानार्थ स्वर्ण पदक हस्तान्तरण गरिएको हो । पोखरा रंगशालामा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले थापाको पदक उनका काका भेनिस थापालाई हस्तान्तरण गरे ।
खेलका विजेताहरुले स्वर्गीय थापाप्रति सम्मान गर्दै पदक गलामा नलगाएको र हातमा दिइएको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघले जनाएको छ ।
नवौं संस्करणका दौरान ज्यान गुमाउने थापाको सम्मानमा पोखरा रंगशालामा अर्धकदको शालिकसमेत बनाइने निर्णय गरिएको छ ।