११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

न्युयोर्कमा भिन्तुना र्याली र म्हःपूजा


Ang

१२ कार्तिक २०७९, शनिबार  

56
Shares


न्युयोर्क । नेपाल संवत् ११४३ को उपलक्ष्यमा यसपटक पनि न्युयोर्क नेवाः गुठीले भिन्तुना र्याली तथा सामूहिक म्हःपूजा भव्य रुपमा सम्पन्न गरेको छ । न्युयोर्कको ज्याक्सन हाइटमा विभिन्न समुदायका व्यक्तिहरुको समूह भेला भई नेवारी पहिरनमा सजिएका महिलाहरुलाई रातो टीका लगाई माछा, उसिनेको अण्डा, केराको सगुन दिई नेपाल सम्वत नया वर्षको शुभकामना आदान प्रदान गरिएको थियो ।

न्युयोर्कस्थित नेपाली वाणिज्य दूतावासका बाणिज्यदुत गणेशप्रसाद अधिकारीको प्रमुख अतिथ्यमा भएको थियो । उक्त अवसरमा बाणिज्यदुत अधिकारीले नेपाल संवत् ११४३ को शुभकामना व्यक्त गर्दै प्रवासमा आयोजित नेपाल सम्वत कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसी लागेको बताएका थिए । नेवारी भेषभूषामा सजिएका नेवारी दाजुभाइ तथा दिदीबहिनीको बीचमा धिमेबाजाको आवाज सुनिरहदा आफू नेपालमै रहेको अनुभुती मिलेको अधिकारीले बताए । र्

“जहासुकै पुगेपनि नेपाली कला र संस्कृतिको जगेर्ना गरी नेपालको संस्कृति जोगाउनुपर्ने उनले बताए । अहिले विश्वमा विस्तारै आफ्नो भाषा हराउदै गएको छ । यो चुनौतीपूर्ण अवस्थामा आफनो घरघरमा अब हामीले आफ्ना साना बालबालिकालाई आफ्नो भाषा सिकाउनुपर्ने बेला आएको छ । बालबालिकाको पहिलो स्कुल वा गुरु भनेकै आमाबाबु हो । त्यसकारण हामीले आफ्नो भाषा, कला र संस्कृति जोगाउन बालबालिकालाई सानैदेखि भाषा सिकाउन अनुरोध गर्दछु ” बाणिज्यदुत अधिकारीले बताए ।

उक्त कार्यक्रममा नेवाः गुठीका पूर्वसंस्थापक अध्यक्ष एवं विश्व नेवाः अगनाइजेसनका सल्लाहकार आदित्य महर्जन र निर्मल चित्रकारले नेवाः गुठी, नेवाः परम्परा र चाडपर्वका बारेमा प्रकाश पारेका थिए ।
गुठीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र महर्जनले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गरेका थिए । कार्यक्रमको अन्त्यमा भेला भएका सम्पूर्ण महानुभावहरुले नेवारी बाजागाजामा नेवारी नाच नाच्दै भिन्तुना भन्दै नगर परिक्रमा गरेका थिए । उक्त र्यालीलाई सबैले ताली बजाई स्वागत गरेका थिए । वेलुकी भनृ सााझ सदाझै गुठीले करिब २ सय जनालाई सामूहिक परम्परागत म्हःपूजा गरी भोज खुवाएर सगुन दिई नाचगान गराई मनोरञ्जन दिलाएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ०६ बजे