नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध १२ वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी गरिएको हो ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैदको व्यवस्था रहेको छ ।
यस्तै, पीडितलाई यथोचित क्षतिपूर्ति दिनुपर्ने पनि मागदाबी गरिएको बताइएको छ ।
प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । लामिछानेले इन्कारी बयान दिँदै आएका छन् । तर प्रहरीले यसमा उनीविरूद्धको मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको जनाएको छ ।
यस्तै उनीहरूबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको बताइएको छ । प्रहरीले अर्का क्रिकेटर देव खनाल, होटलका सञ्चालक, होस्टेल सञ्चालक लगायतसँग बयान लिएको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलमा डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।
लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए ।